
-तुलसीराम खनाल ।
बुटवल, असार २० — केरुङेगेली समाज रुपन्देहीको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा संस्थाका संरक्षक डा. खिमानन्द पाण्डे, सल्लाहकार मनोज भुसाल, उपाध्यक्ष तिलक पाण्डे, कोषाध्यक्ष कमल न्यौपाने, लेखा समिति संयोजक भेषराज पाण्डे, सदस्य दुर्गा बहादुर श्रेष्ठ लगायत संस्थाका पदाधिकारी, सदस्य तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान समिति संयोजक सालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रेम गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा विभिन्न सामाजिक संस्थाको तर्फबाट आयोजना गरिएको यो पहिलो रक्तदान कार्यक्रम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले अन्य संघसंस्थालाई पनि अस्पतालमै आएर सामाजिक कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।


उहाँले आफ्नो जीवनमै पहिलो पटक रक्तदान गरेको जानकारी दिँदै आगामी दिनमा अस्पताल रक्तदानजस्ता मानवीय सेवामूलक कार्यक्रमका लागि सबै संघसंस्थासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।


समाजका अध्यक्ष यज्ञमूर्ति पाण्डेले केरुङेगेली समाज २०५७ सालदेखि विभिन्न सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वय गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रक्तदान गर्ने सम्पूर्ण रक्तदातासहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्राविधिक टोलीप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो।

समाज स्थापना भएको २६ वर्ष पूरा भएको अवसरसँगै आयोजित कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव विरोध पाण्डेले गर्नुभएको थियो।





