
अर्घाखाँची, असार २१ — विश्व कुष्ठरोग दिवसको अवसरमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ स्थित वडा कार्यालयमा कुष्ठरोग तथा अपाङ्गता सम्बन्धी सचेतना एवं पैरवी कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले कुष्ठरोग कुनै श्राप, पापको फल वा वंशाणुगत रोग नभई जीवाणुबाट हुने सरुवा रोग भएको स्पष्ट पार्दै समयमै पहिचान र नियमित उपचार गरे पूर्ण रूपमा निको हुने बताउनुभयो। उहाँले शरीरमा संवेदना कम हुने, सेता वा राता दाग देखिने तथा हातखुट्टामा कमजोरी आउने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो।


छत्रदेव गाउँपालिका–३ का वडाध्यक्ष तेजप्रसाद खनालले स्वास्थ्यसम्बन्धी सचेतनामूलक अभियानलाई समुदायसम्म पुर्याउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।


वडा नं. ४ का वडाध्यक्ष भीमलाल खनालले कुष्ठरोगका बिरामीलाई विभेद नगरी सम्मानपूर्वक व्यवहार गर्दै समयमै उपचारमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

जनस्वास्थ्य अधिकृत अंकिता बस्यालले कुष्ठरोग नियन्त्रणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै नियमित स्वास्थ्य परीक्षण र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।


सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा सामाजिक समावेशीकरणका क्षेत्रमा संस्थाले निरन्तर काम गरिरहेको बताउँदै कुष्ठरोगका कारण हुने अपाङ्गता न्यूनीकरणका लागि समुदायको सकारात्मक सोच अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं. २ की सदस्य गीता भुसाल, सिनियर अहेब हरिप्रसाद पोखरेल लगायतले पनि कुष्ठरोगप्रतिको विभेद अन्त्य, समयमै उपचार र जनचेतना अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा ३० जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कुष्ठरोग, अपाङ्गता रोकथाम, उपचार सेवा, स्वास्थ्य अधिकार तथा सामाजिक समावेशीकरणसम्बन्धी जानकारी लिएका थिए।


कार्यक्रमले कुष्ठरोग नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र नभई समुदाय, स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक सबैको साझा जिम्मेवारी भएको निष्कर्ष निकाल्दै विभेदमुक्त र समावेशी समाज निर्माणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम











