बैदेशिक रोजगारमा ठगी गर्ने २ पक्राउ

काठमाडौं, २१ असार । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्

बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका–३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् ।

पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका–८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका–६ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।