
रौतहट, २१ असार। रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा सादा पोशाकमा परिचालित भनिएका प्रहरी कर्मचारीको नाममा अवैध असुली, धम्की तथा आर्थिक आतंक मच्चाइएको भन्दै स्थानीय व्यापारीहरूले गुनासो गरेका छन्।
यद्यपि जिल्ला प्रहरी कार्यालय रौतहटले भने जिल्लाबाट सादा पोशाकका प्रहरी परिचालन नगरिएको दाबी गरेको छ।

स्थानीयका अनुसार अनुसन्धानका लागि परिचालित भनिने ‘घुमुवा’ प्रहरी पछिल्लो समय तस्कर तथा व्यापारीसँग रकम असुल्ने, प्रहरी कार्यालय बोलाएर धम्क्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न हुने गरेको आरोप बढ्दै गएको छ।
स्थानीय व्यापारीहरूले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वरिष्ठ हवल्दार मुनिलाल गुप्तामाथि समेत पदको दुरुपयोग गर्दै अवैध असुली गरेको आरोप लगाएका छन्। नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले गुप्ताले बिहान–बेलुका पसलमा पुगेर “हाकिमको आदेश छ, प्रहरी कार्यालय आउ, नत्र थुनिदिन्छु” भन्दै धम्क्याउने गरेको दाबी गरे।


ती व्यापारीका अनुसार आफूलाई “५० किलोग्राम गाँजा पक्राउ गरिदेऊ, नभए मुद्दा लगाएर थुनाउँछु” भन्ने धम्कीसमेत दिइएको थियो। यस्ता आरोपबारे सम्बन्धित प्रहरी कर्मचारीको प्रतिक्रिया भने प्राप्त हुन सकेन।

स्थानीय व्यापारीहरूका अनुसार नेपाल प्रहरीमा ‘घुमुवा’ प्रणाली हटाउने निर्णय भए पनि केही कार्यालय प्रमुखले आफ्ना विश्वासपात्र प्रहरीलाई अनौपचारिक रूपमा परिचालन गर्दै आर्थिक चलखेल गरिरहेको अवस्था अझै कायम छ।
यसअघि प्रहरी प्रधान कार्यालयले मधेश प्रदेश, काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा मापदण्डविपरीत सादा पोशाकमा परिचालित सयौं प्रहरी कर्मचारीलाई जिम्मेवारीमुक्त गर्दै हेडक्वार्टर फिर्ता बोलाएको थियो।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत सादा पोशाकमा प्रहरी परिचालनमा कडाइ गरे पनि रौतहटका केही क्षेत्रमा यस्ता गतिविधि नरोकिएको स्थानीयको दाबी छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जिल्लाबाट सादा पोशाकका प्रहरी परिचालन नगरिएको बताउँदै यदि कुनै कार्यालय प्रमुखले नियमविपरीत त्यस्ता प्रहरी परिचालन गरेको पाइए प्रहरी नियमावली अनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
तस्विरः एआई





