
रौतहट, २१ असार। रौतहट प्रहरीले छुट्टाछुट्टै कारबाहीमा गाँजा र हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
साथै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जना हेल्थकेयर सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सर्लाही पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो शनिबार राति करिब साढे १०बजे बौधीमाई नगरपालिका–७ बंकुलस्थित सडकखण्डमा सीमा कार्य टोली र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेका भारत, बिहार, मोतिहारी जिल्ला, संग्रामपुर थाना, भटवलिया ग्राम पञ्चायत–११ का २५ वर्षीय रामप्रवेश महतोलाई जाँच गरेको थियो।
जाँचका क्रममा उनले बोकेको नाइलनको झोलाबाट १ किलो ६५० ग्राम गाँजा र पाइन्टको पछाडिको खल्तीबाट ७।२३ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले बताएका छन्। परेका महतोमाथि थप अनुसन्धान भइरहेको छ।





