
काठमाडौँ । मिकेल मेरिनोले अतिरिक्त समयको पहिलो मिनेटमा निर्णायक गोल गरेपछि स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
डलासमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफभर दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेका थिएनन् । तर ९१औँ मिनेटमा फेरान टोरेसको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मेरिनोले सहज फिनिस गर्दै स्पेनलाई जित दिलाएका थिए ।


यो नतिजा सन् २०१० को विश्वकपमा पनि यही चरणमा स्पेनले पोर्चुगललाई १-० ले हराएको सम्झना दोहोरिएको हो । अब स्पेनले क्वार्टरफाइनलमा आयोजकमध्ये एक संयुक्त राज्य अमेरिका वा बेल्जियममध्ये विजेतासँग लस एन्जलसमा खेल्नेछ ।

यस हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ । रोनाल्डोले यसअघि नै यो विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए । खेलको तेस्रो मिनेटमै स्पेनले उत्कृष्ट अवसर खेर फाल्यो । डानी ओल्मोको पासमा मिकेल ओयारजाबाल रक्षकलाई छल्दै अगाडि बढे पनि उनको प्रहार गोलपोस्ट बाहिरियो । त्यसपछि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले लामिन यामाल र आलेक्स बाएनाको लगातार दुई प्रहार उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई संकटबाट जोगाएका थिए ।
पहिलो हाफको ४१औँ मिनेटमा पोर्चुगल गोल नजिक पुगेको थियो । नुनो मेन्डेसको शक्तिशाली प्रहार पेड्रो पोरोमा ठोक्किँदै क्रसबारमा लागेपछि स्पेनले राहत पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पोर्चुगलले खेलमा पकड बढाए पनि अग्रपंक्तिमा रहेका रोनाल्डो प्रभाव जमाउन सकेनन् । ७६औँ मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार जालीको बाहिरी भागमा लाग्यो भने अर्को छेउमा दानी ओल्मोको प्रहार रुबेन डियासले साहसिक रूपमा रोकिदिएका थिए ।

अन्ततः खेलको अतिरिक्त समयमा स्पेनका दुई वैकल्पिक खेलाडीबीचको उत्कृष्ट संयोजनले निर्णायक गोल सम्भव बन्यो र स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।




