सभामुखले जेठ १७ गते संसदमा भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्यवन गर्दै

काठमाडौँ । सभामुख डिपी अर्यालले जेठ १७ गते प्रतिनिधि सभामा भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्यवन अगाडी बढाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाबाट नियमावली पारित गर्ने क्रममा जेठ १७ गते भएको संसदमा भएको झडप बारे जाँचबुझ गर्न गठित समितिले बुझाएको दिएको प्रतिवेदन अध्ययनपछि सभामुख अर्यालले कार्यान्वयन अघि बढाएका हुन् ।

सभामुख अर्यालले चैत १८ गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए । समितिले जेठ २५ गते नै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

यस विषयमा संसद सचिवालयले भनेको छ- ‘प्रतिनिधि सभाको मिति २०८३ साल जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा उत्पन्न परिस्थितिका सम्बन्धमा सम्माननीय सभामुखलाई प्राप्त हुनआएको जानकारी र मिति २०८३ साल जेठ १८ गते सो विषयका सम्बन्धमा मुचुल्कासमेत तयार भइसकेको आधारमा आवश्यक थप जाँचबुझ गरी ७ (सात) दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधि सभाको मिति २०८३ जेठ १८ गतेको बैठकमा सम्माननीय सभामुखले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवम् सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने गरी गठन भएको समितिले २०८३।०२।२५ मा सम्माननीय सभामुखसमक्ष प्रतिवेदन प्रस्तुत गरिसकेको र सम्माननीय सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपश्चात् आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको बेहोरा जानकारी गराइन्छ ।’

प्रतिवेदनले संसदमा ठुलो नोक्सानी नभएपनि अमर्यादित गतिबिधि भएको निष्कर्ष निकालेको बताइएको छ ।