शाहरूखको ‘पठान’लाई च्यालेन्ज गर्ने ‘चौहान’को ट्रिजरमा गरियो फेरबदल

मुम्बई, २५ असार । अजय देवगन अभिनित चलचित्र ‘चौहान’को टिजरले ठूलो विवाद निम्त्याई रहेको छ ।

‘पठानहरूलाई भनिदेऊ कि चौहान आउँदैछ’ भन्ने संवादका साथै कश्मीरमा ढुङ्गामुढा र पेलेट गनको प्रयोगलाई चलचित्र निर्माताहरूले प्रस्तुत गरेको दृष्टिकोणलाई लिएर व्यापक विरोध भइरहेको छ । क्षत्रिय परिषद्देखि लिएर श्रीनगरका सांसद आगा सैयद रुहुल्लाह मेहदीसम्मले यसमा आपत्ति जनाएका थिए । यसका साथै, दर्शकहरूको ठूलो हिस्साले नीरज यादवको यस चलचित्रको टिजरलाई प्रोपोगान्डाको संज्ञा दिँदै कश्मीर प्रति असंवेदनशील भएको भनेर आलोचनासमेत गरेका थिए ।

कसै–कसैले यसलाई शाहरुख खान र उनको चलचित्र ‘पठान’ माथि गरिएको कटाक्षका रूपमा समेत अर्थ्याएका थिए। भारतीय सञ्चारमाध्यमका साथै अल जजिरा लगायत विश्वभरका विभिन्न सञ्चारमाध्यमले यस टिजर र यसलाई लिएर मच्चिएको व्यापक विवादबारे समाचार सम्प्रेषण गरिरहेका छन । यति धेरै हो हल्ला पछि निर्माताहरूले अब युट्युबमा रहेको ‘चौहान’ टिजरमा केही परिवर्तन गरेका छन्।

यद्यपि, यसमा एउटा ‘पेच’ पनि छ, जसले नयाँ बहस सिर्जना गरेको छ। टिजरको सुरुवात एउटा यस्तो भ्वाइसओभरबाट हुन्छ । २५ जुनमा सार्वजनिक गरिएको टिजरमा सुनिएको आवाज फरक थियो, त्यो मोहम्मद जीशान अय्युबको जस्तो सुनिन्थ्यो। यद्यपि, यदि तपाईंले अहिले युट्युबमा  ‘चौहान’ टिजर हेर्नु भयो भने त्यसमा भएको भ्वाइस ओभर परिवर्तन भएको पाउनु हुनेछ। यो आवाज राजकुमार रावको हो भनिन्छ, यद्यपि निश्चित रूपमा केही भन्न सकिँदैन, सिवाय यस कुराका कि यो वास्तवमै एउटा नयाँ आवाज हो। तपाईंले सामाजिक सञ्जालमा टिजरका दुवै संस्करणहरू तिनीहरूका आ–आफ्ना भ्वाइस ओभरसहित हेर्न सक्नु हुन्छ। आवाजका साथै टिजरका बारेमा राखिएको अजय देवगनको पोस्टर पनि परिवर्तन गरिएको छ।

सुरुमा उनलाई ‘मेजर’ भनेर सम्बोधन गरिएको थियो भने अहिले ‘कर्नेल’ शब्द प्रयोग भइरहेको छ। टिजरमा पक्कै पनि केही परिवर्तनहरू गरिएका छन् तर, यो उल्लेखनीय छ कि जुन विषयहरूले ठूलो विवाद निम्त्याएका थिए र जसका कारण निर्माताहरूले कडा आलोचना खेप्नुपरेको थियो, ती विषयहरू भने जस्ताको तस्तै छन्। कश्मीरमा ढुङ्गामुढाको दृश्य, पेलेट गनलाई  ‘सीमित क्षति’ पुर्‍याउने हतियारका रूपमा चित्रण गर्ने कार्य र त्यो विवादास्पद ‘पठान–चौहान’ संवाद यी सबै कुराहरू पहिले जस्तै यथावत छन्।

अहिले सामाजिक सञ्जालमा यी सामान्य परिवर्तनहरूको पनि चिरफार भइरहेको छ। कसै कसैले यसलाई निर्माताहरूको जानाजानी गरिएको कदमका रूपमा हेरेका छन्, नौं उनीहरू आफ्ना आलोचकहरूलाई चुनौती दिँदैछन्। अरूको बुझाइमा भने चलचित्र अझै प्रारम्भिक चरणमै छ, वास्तविक चलचित्रमा अजयको भूमिका वा अडान टिजरमा देखाइए भन्दा फरक हुन सक्छ, जसले गर्दा ती परिवर्तनहरूसँग मेल खाने गरी नयाँ ‘भ्वाइसओभर’ को आवश्यकता परेको हुन सक्छ। यद्यपि, यी केवल अनुमानहरू मात्र हुन्।