महानायक राजेश हमाल भन्छन्- देशको कानुन र नीति आफ्नै यथार्थअनुसार बन्नुपर्छ

काठमाडौँ । महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, नीति र विकासको मोडल त्यस देशको आफ्नै आर्थिक, सामाजिक तथा सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एउटै बिरामीको परीक्षणका आधारमा अर्को बिरामीको उपचार गर्न नमिल्ने उदाहरण दिँदै एक देशमा सफल भएको प्रणाली अर्को देशमा जस्ताको तस्तै लागू गर्दा अपेक्षित परिणाम नआउने उल्लेख गरेका छन् ।

उनका अनुसार कुनै पनि राष्ट्रको आफ्नै इतिहास, क्षमता, चुनौती र आकांक्षा हुने भएकाले अन्य देशका सफल नीति तथा प्रणालीलाई अन्धानुकरण गरेर लागू गर्नु उपयुक्त हुँदैन। आवश्यक पूर्वाधार र संस्थागत क्षमता नहुँदा एउटा परिवेशमा सफल भएको नीति अर्को परिवेशमा असफल हुन सक्ने उनको भनाइ छ।

हमालले देशका नियम, कानुन र नीतिहरू पूर्वाधार, संस्थागत क्षमता तथा नागरिकको जीवनस्तरसँग मेल खाने गरी निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

उनले दिगो प्रगति अन्धानुकरणबाट सम्भव नहुने उल्लेख गर्दै असल सिद्धान्तलाई राष्ट्रिय यथार्थअनुसार आत्मसात् गरी देशको आवश्यकता र परिस्थितिअनुसार सुधार लागू गर्न सके मात्र वास्तविक विकास सम्भव हुने बताएका छन्।