ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

काठमाडौँ । भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित पाँच भारतीय नागरिकलाई पक्राउ परेका छन् ।  लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय पोखराले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जनाएको छ ।

ब्युरोका अनुसार इलाका प्रहरी कार्यालय डाँडाको सहयोगमा कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा विशेष कारबाही सञ्चालन गरिएको थियो । सो क्रममा भारतीय नम्बर प्लेटको कारभित्र लुकाएर राखिएको नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनका १ हजार ८०० एम्पुल तथा ट्रामाडोलका ५१० क्याप्सुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बर्जली पासवान, ३३ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रीतम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन् । प्रहरीले उनीहरूको साथबाट भारतीय नम्बर प्लेट युपी–५३–वाई–७७०४ नम्बरको कार र पाँच थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।