रिलायन्स स्पिनिङको ७.७० लाख कित्ता सेयरको लक–इन भदौ १ मा सकिने

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका योग्य संस्थागत लगानीकर्ताले होल्ड गरेका सेयर आगामी भदौ १ गतेदेखि कारोबारका लागि खुला हुने भएका छन्। कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अन्तर्गत संस्थागत लगानीकर्तालाई बाँडफाँड गरिएको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत बराबर कुल १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। त्यसमध्ये नियमअनुसार ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याएर बाँडफाँड गरिएको थियो।

रिलायन्स स्पिनिङको सेयर २०८२ फागुन १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी प्रचलित नियमावलीअनुसार सूचीकृत भएको मितिबाट ६ महिनासम्म संस्थागत लगानीकर्तालाई वितरण गरिएको सेयर बिक्री वा कारोबार गर्न नपाइने व्यवस्था छ।

सोही कानुनी व्यवस्थाअनुसार अब भदौ १ गतेपछि उक्त सेयर लक–इनबाट मुक्त हुनेछ। त्यसपछि सम्बन्धित संस्थागत लगानीकर्ताले चाहेमा ती सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। बजार विश्लेषकहरूका अनुसार लक–इन खुलेपछि सेयरको आपूर्तिमा केही वृद्धि हुन सक्ने भएकाले त्यसको प्रभाव कारोबार र मूल्यमा समेत देखिन सक्छ।