
– अर्घाखाँची डटकम।
अर्घाखाँची, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला नेता, अग्रज समाजसेवी तथा शिक्षाप्रेमी ऋषव अधिकारीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज बिहान ७० वर्षको उमेरमा दुःखद निधन भएको छ।

स्वर्गीय अधिकारी केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको निधन भएको खबरसँगै अर्घाखाँची जिल्ला शोकमग्न बनेको छ। उहाँको निधनले नेपाली कांग्रेस, स्थानीय सरकार, सामाजिक तथा शैक्षिक क्षेत्रले एक अनुभवी, समर्पित र जनप्रिय व्यक्तित्व गुमाएको महसुस गरेका छन्।


पञ्चायतकालदेखि नै निरन्तर राजनीति र समाजसेवामा सक्रिय रहँदै आउनुभएका अधिकारीले लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेसको संगठन विस्तार तथा जनसेवामूलक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ सरल, इमानदार, मिलनसार, विकासप्रेमी तथा जनउत्तरदायी नेताका रूपमा अर्घाखाँचीवासीमाझ परिचित हुनुहुन्थ्यो।


उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा सन्धिखर्क नगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। त्यसयता वडाको समग्र विकास, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार विस्तार तथा नागरिक सेवामा सक्रियतापूर्वक नेतृत्व प्रदान गर्नुभएको थियो। जनताको सुख–दुःखमा सधैं साथ दिने जनप्रतिनिधिका रूपमा उहाँले स्थानीयवासीको विश्वास जित्न सफल हुनुभएको थियो।


राजनीतिक जिम्मेवारीसँगै स्वर्गीय अधिकारी शिक्षा र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। उहाँ श्री जीवनोद्धार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पाणिनी क्याम्पस सञ्चालक समितिका सदस्य लगायत विभिन्न सामाजिक तथा शैक्षिक संघ–संस्थामा आबद्ध रही समाज रूपान्तरण, शिक्षा विकास र सामुदायिक हितका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो।
उहाँको निधनसँगै अर्घाखाँचीले एक अनुभवी राजनीतिक व्यक्तित्व, समर्पित जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा जनताको अभिभावक गुमाएको छ। उहाँको निधनको खबरपछि विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
अर्घाखाँची मिडिया हाउस प्रालि (अर्घाखाँची डटकम) स्वर्गीय ऋषव अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकको यस दुःखद घडीमा शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
भावपूर्ण श्रद्धाञ्जली!






