सांसद र नगर प्रमुखविरुद्धको मुद्दा फिर्ता लिन ज्ञापनपत्र

कपिलवस्तु । सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहविरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाइएको छ ।

नगर प्रवक्ता हरिपाल चतुर्वेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत निष्पक्ष अनुसन्धान गरी निर्दोषमाथि कारबाही नगर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा असार २८ गते कृष्णनगरस्थित शाह कम्प्लेक्समा भएको विवाद मिलाउन मात्र सांसद शाह र नगर प्रमुख शाह घटनास्थल पुगेको दाबी गर्दै उनीहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा झुटो मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ । माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

यसैबीच, उक्त मुद्दाको विरोधमा शुक्रबार कृष्णनगर र बहादुरगञ्ज बजार दिनभर बन्द गरिएको छ । व्यापारीहरूले स्वतःस्फूर्त रूपमा बजार बन्द गर्दै मुद्दा फिर्ता लिन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भने दुवै पक्षका मुद्दामा पक्राउ पुर्जी जारी गरी प्रतिवादीहरूको खोजी भइरहेको जनाएको छ ।