
पर्वत । पर्वतको कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अन्दाजी १४:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला पर्वत, कुश्मा नगरपालिका-७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र जिल्ला पर्वत, कुश्मा नगरपालिका-९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने रहेका छन् । गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो ।
घाइते भएका जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोहि अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





