पार्क निर्माणमा स्थानीय हात, ३ महिनामै चिटिक्क बन्यो जनता पार्क

माेरङ, ३ साउन ।  सरकारले बनाएका संरचना वषैं सम्म अधुरा हुन्छन्, बनेका पनि संरक्षण नहुँदा जीर्ण बन्छन्। यो गुनासो नेपालका अधिकांश स्थानीय तहमा सुनिन्छ।

तर, पथरीशनिश्चरे-३ मा भने यसको ठीक उल्टो उदाहरण देखिएको छ। यहाँ सरकारी बजेटको भर नपरी स्थानीयको सक्रियता, सामूहिक श्रम र सहयोगबाट जम्मा तीन महिनामै एउटा आकर्षक जनता पार्क निर्माण भएको छ।

वैशाख १ गते सुरु भएको निर्माण अभियान साउनको सुरुआतमै सम्पन्न गरिएकाे हाे । अहिले पार्कमा पुग्ने जो कोहीले सफा वातावरण, व्यवस्थित पेभर ब्लक, बस्न मिल्ने बेञ्च, हरियाली र सुन्दर बगैँचाले भरिएको पार्क देख्न सक्छ। केही समय अघिसम्म सामान्य खाली जमिन रहेको स्थान अहिले स्थानीयका लागि बिहान बेलुकाको भेटघाट, विश्राम र बालबालिकाको रमाइलो गर्ने सार्वजनिक स्थल बनेको छ।

जनता पार्क निर्माणको सुरुवात कुनै सरकारी योजनाबाट होइन, स्थानीय पत्रकार रमेश खडकाको एउटा सोचबाट भएको हो। सार्वजनिक स्थललाई व्यवस्थित र आकर्षक बनाउने उनको अवधारणाले विस्तारै स्थानीय युवाहरूलाई पनि जोड्दै लग्यो।

रमेशलाई साथ दिन केदार बोहोरा, हेमन्त ओझा र विक्रम राई अग्रसर भए। केही युवाको छलफलले पार्कको रूपरेखा तयार गर्‍यो र त्यसपछि सुरु भयो सहयोग जुटाउने अभियान।

सहयोगका लागि उनीहरूले सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाए। पार्क निर्माणको उद्देश्य सार्वजनिक गरेपछि देश–विदेशमा रहेका पथरीशनिश्चरेका बासिन्दा, शुभेच्छुक र समाजसेवीहरूबाट उत्साहजनक साथ मिल्न थाल्यो।

पार्क निर्माणका लागि करिब तीन लाख रुपैयाँ बराबरको सहयोग संकलन भयो। तर आर्थिक सहयोग मात्रै होइन, यो अभियानमा विभिन्न किसिमका सहयोग जुटे।

कसैले नगद दिए, कसैले बस्ने टेबल र बेञ्च निर्माणमा सहयोग गरे भने कसैले पेभर ब्लक बिछ्याउने काममा हातेमालो गरे। निर्माण कार्यमा स्थानीय युवाहरूको श्रमदान पनि उल्लेखनीय रह्यो।

images

यसरी एउटाको अभियान विस्तारै समुदायको साझा अभियानमा परिणत भयो।

नेपालमा करोडौँ रुपैयाँ खर्चेर बनाइएका धेरै सार्वजनिक संरचना समयमै सम्पन्न नहुने, निर्माणपछि संरक्षण नपाउने वा प्रयोगविहीन हुने उदाहरण प्रशस्तै छन्। यस्ता अवस्थाबीच पथरीशनिश्चरे–३ को जनता पार्कले फरक सन्देश दिएको छ।

images

यसले देखाएको छ-स्पष्ट उद्देश्य, पारदर्शी अभियान र स्थानीयको अपनत्व भए ठूलो बजेटभन्दा ठूलो कुरा सामूहिक इच्छाशक्ति रहेछ।