श्रद्दा कपुरले बनाउने फिल्मवाट बाहिरिए आमिर खान

मुम्बई, ७ साउन । बलिउड अभिनेता आमिर खानले ‘भारतपे’ का पूर्व सह संस्थापक तथा व्यवसायी अशनीर ग्रोभरको जीवनीमा आधारित चलचित्र अर्थात बायोपिकबाट आफूलाई अलग गरेका छन्।

सञ्चारमाध्यमका अनुसार, चलचित्रका निर्देशक राहुल मोदीसँगको सिर्जनात्मक मतभेदका कारण आमिरले यो परियोजना छोड्ने निर्णय गरेका हुन्।

यस अघि यस चलचित्रमा श्रद्धा कपुर मुख्य भूमिकामा रहने र आमिरले अशनीर ग्रोभरको भूमिका निर्वाह गर्ने खबर आएको थियो। आमिरले यो परियोजनाबाट बाहिरिने निर्णय गरे पनि निर्माताहरूले यसमा काम जारी राख्ने छन्। अहिले श्रद्धा कपुर र राहुल मोदी अशनीरको भूमिकाका लागि एक युवा अभिनेताको खोजी गरिरहेका छन्।

आमिर खान स्टार्टअपको दुनियाँमा निकै रुचि राख्छन्। उनी अशनीर ग्रोभरको जीवनीमा आधारित चलचित्र (बायोपिक) बनाउन निकै इच्छुक थिए।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार उनले चलचित्रको पटकथामा आफैँ काम गरे र यसलाई आफ्नो दृष्टिकोण अनुसार ढाल्ने प्रयास गरे। तर, पटकथा र चलचित्रको निर्देशनका विषयमा आमिर र निर्देशक राहुल मोदीबीच मतभेद देखियो। पटक पटकको छलफल पछि पनि कुनै सहमति जुट्न नसके पछि आमिरले उक्त परियोजनाबाट बाहिरिने निर्णय गरेका हुन् ।

आमिर खान बाहिरिए पनि यो बायोपिकको काम रोकिएको छैन। निर्देशक राहुल मोदी र अभिनेत्री श्रद्धा कपुर यस परियोजनालाई अघि बढाउन प्रतिबद्ध छन्। निर्माताहरू अहिले अशनिर ग्रोभरको भूमिका निभाउनका लागि एक युवा अभिनेताको खोजीमा छन्। समाचारहरूका अनुसार निर्माताहरूले यस क्षेत्रका दुई तीनजना चर्चित युवा अभिनेताहरूसँग कुराकानी गरिरहेका छन् र मुख्य अभिनेताको टुङ्गो छिट्टै लाग्न सक्छ।

श्रद्धा कपुरले यस बायोपिकमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछिन्, उनले अशनीर ग्रोवरकी पत्नी माधुरी जैन ग्रोवरको भूमिका निभाउने सम्भावना छ। साथै, उनले एक प्रमुख स्टुडियोसँगको सहकार्यमा यस चलचित्रको सह निर्माण पनि गर्दैछिन्। अभिनेत्री र निर्माता दुवैका रूपमा उनको संलग्नता रहने भएकाले यस परियोजनालाई श्रद्धाको करियरको एक महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ।

प्रारम्भिक योजनाअनुसार यस चलचित्रको छायाङ्कन सन् २०२७ को मार्चमा सुरु हुने तय गरिएको थियो। निर्देशक आशुतोष गोवारिकरको ‘पिरियड ड्रामा’ अर्थात ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्रको छायाङ्कन पूरा गरेपछि आमिर खानले यो बायोपिकमा काम सुरु गर्ने योजना थियो। तर, कलाकार चयनमा आएको परिवर्तनले अब छायाङ्कनको तालिकालाई पनि प्रभावित पार्न सक्छ।

 

images