आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ (भारु) नोट प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का व्यवस्थाअनुसार यसअघि जारी गरिएका व्यवस्थामा परिमार्जन गर्दै सन् २०१६ नोभेम्बर ९ भन्दा यता प्रचलनमा आएका प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको हो ।  साथै सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय पाँच सय र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत रहेको जनाएको छ। त्यस्तै राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्राको हकमा पनि सोही बराबर) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्। तर, अमेरिकी डलर पाँच हजारभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ । यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि कायम रहेको राष्ट्र बैंकले पुनः जानकारी गराएको छ । नयाँ व्यवस्थाले विदेशी मुद्रा कारोबारसम्बन्धी अन्योल हट्नुका साथै नेपाल आउने भारतीय पर्यटकलाई सहजता पुग्ने र विदेशी विनिमय नियमन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा लिएको जनाएको छ ।

२-  नेपालले नेदरल्याण्डसलाई १५८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै ४४.४ ओभरमा अल आउट भएर १५७ रन बनाएको हो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ४१ रन बनाए भने गुलशन झाले २९ र दिपेन्द्र सिंह ऐरीले २१ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले १४ र करण केसीले १३ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले ३-३ विकेट लिए भने लोहान भन बीकले २ विकेट लिएका थिए ।

३- जिल्ला सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिएर कर अधिकृत पालले घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ नगद र एउटा मोबाइल फोन समेत बरामद गरिएको आयोगले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

४- डा. गोविन्द केसीले धनगढीबाट अनशन सुरु गरेका छन् । विहिबार धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा पत्रकार सम्मेलन गरेर अनशन सुरु गरेका हुन् । डा. केसीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित र केही अन्य गरी पाँचबुँदे माग अघि सारेका छन् । स्थापित नियम र मूल्यमान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गर्नुपर्ने माग उनले अघि सारेका छन् । विश्वविद्यालयको ऐनका विवादित प्रावधानहरू संशोधन गर्नुपर्ने माग उनले राखेका छन्। चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने उनको माग छ । डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउन र विगतमा भएका आफूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न पनि माग गरेका छन् । त्यस्तै, गत वर्ष भदौ २३ र २३ गते जेन–जी आन्दोलनका क्रममा जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न तथा ०४६ सालदेखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनले माग गरेका छन् । पत्रकार सम्मेलनमा केसीले गेटा मेडिकल विश्वविद्यालयका नाममा मेडिकल माफियाको स्वार्थ पूर्ति गर्ने काम भइरहेको आरोप लगाए । दशकौँदेखि विशिष्ट सेवा दिँदै आएका त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्थापित संस्थालाई पन्छाएर गेटामा नयाँ संरचना थोपर्नु र ऐनमा विवादित प्रावधान राखेर आफूअनुकूल निजी संस्थाका व्यक्तिलक्षित कुलपति र उपकुलपति नियुक्त गरिएको केसीको आरोप छ । चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन वर्ष शिक्षण अस्पताल चलाएको हुनुपर्ने व्यवस्था भएकाले गेटामा पहिले शिक्षण अस्पताल सञ्चालन गर्न र त्यसपछि मात्र चिकित्सा शिक्षा पठनपाठन सुरु गर्नुपर्ने उनले बताए । यी मागहरू सम्बोधन गर्न साउन ५ गतेसम्मको समय दिइए पनि सरकारले पूर्ण रूपमा बेवास्ता गरेकाले आफूले अनशन सुरु गरेको उनको भनाइ छ।

५- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुसँग छलफलका क्रममा नेपालमा अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेपछि प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरेका हुन् ।  यस्तै, अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए । प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उहाँहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक भएको उनको सचिवालयले जानकारी दिएको छ । साथै, अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए । छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहेका छन् । सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।  भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।  लामिछाने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन भ्रमणमा जान लागेको र सम्भवत भ्रमण अगस्त महिनामा हुने दाबि गरिएको छ । यसअघि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणमा गरेको भ्रमण भ्रमणको निकै चर्चा भएको थियो भने उनले भारतमा उच्च सम्मान समेत पाएका थिए ।

 

images

७- भारतका सामाजिक अभियन्ता अन्ना हजारेले विद्यार्थीहरूको आन्दोलनको समर्थन गर्दै महाराष्ट्रको अहिल्यानगरमा मौन आन्दोलन सुरु गरेका छन् । हजारेले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै जनताका समस्या र माग उच्च नेतृत्वसम्म पुर्‍याउन आवश्यक रहेको बताएका थिए । उनले प्रधानमन्त्री देशको सर्वोच्च नेतृत्व भएकाले नागरिकका प्रश्न उनीसमक्ष पुग्नुपर्ने धारणा राखेका छन् । यसैबीच ककरोच जनता पार्टीले दिल्लीको जन्तर-मन्तरमा गरिरहेको प्रदर्शनविरुद्ध परेको जनहित याचिकामाथि दिल्ली उच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ । याचिकामा प्रदर्शनका कारण दिल्लीका विभिन्न सडक बन्द भएको र सर्वसाधारणले कठिनाइ भोग्नुपरेको दाबी गरिएको छ । प्रदर्शनकारीहरूले राजधानीलाई प्रभावित बनाएको आरोपसमेत लगाइएको छ । उता जन्तर-मन्तरमा ककरोच जनता पार्टीको प्रदर्शन जारी छ। बिहीबार बिहानैदेखि हजारौँ मानिस प्रदर्शनस्थलमा भेला भएका थिए । पार्टी प्रमुख अभिजीत दीपकेले प्रदर्शनकारीबीच सत्तारूढ दलका समर्थकहरूले घुसेर ढुंगामुढा गरिरहेको आरोप लगाएका छन् । उनले आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।

८- नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने स्नो रिभरको शेयर १३.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पनिंग मिल्सको २८  करोड ३३ लाख बराबरको कारोबार भएको छ भने अन्खुखोला जलविद्युतको २७ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

images

९-  सप्तरीमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित ओसारपसार भइरहेको ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको हो। हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेका छन्। बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरिएको हो। फरार चालकहरूको खोजी जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१०- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपालले विहिबार सम्पन्न खेलमा श्रीलंकासँग हार बेहोरेको हो । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३-२ ले पराजित भएको हो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको थियो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ बराबरी पछि निकै कम अंक ल्यायो । नेपालले श्रीलंकासँग २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–१० ले खेल गुमाएको हो ।  लगातार २ खेलमा ५ सेट खेल्दै नेपालले तालिकामा २ अंक जोडेको छ । पहिलो खेलमा नेपालले काजकिस्तानसँग ३-२ ले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा आयोजक पाकिस्तानसँग शुक्रबार खेल्ने तालिका छ ।

images

११- जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।

१२- भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी आन्दोलनका बीच ककरोच जनता पार्टी (सिजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट गरेको छ । पार्टीका प्रमुख प्रवक्ता सौरभ दासले आन्दोलनकारी तथा वातावरण अभियन्ता सोनम वाङ्चुकसँग पटक-पटक छलफल भएको जानकारी दिँदै आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउन सबैलाई आग्रह गरिएको बताए । उनले विगतका आन्दोलनमा असामाजिक तत्व घुसाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था हुन नदिन सबैलाई संयम अपनाउन आग्रह गरेका छन् । केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षी दलले आन्दोलनलाई राजनीतिक रूपमा प्रयोग गरिरहेको बताएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै दासले ३० दिनभन्दा बढी समयदेखि आन्दोलनरत नागरिकको मागलाई बेवास्ता गर्नु उचित नभएको बताए । उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट नहटेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । यसअघि मन्त्री नड्डाले सरकारले आन्दोलनकारीसँग संवाद गर्न तयार रहेको र यस विषयमा संसद नै गहन छलफलका लागि उपयुक्त स्थान भएको बताएका थिए । उनले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्षी दुवै पक्षले जिम्मेवारीपूर्वक समाधान खोज्नुपर्ने धारणा राखेका थिए । यसैबीच आन्दोलनप्रति कैयौं भारतीय सेलिब्रेटी र क्रिकेटरहरुले समेत समर्थन गरेका छन् । अभिनेता सलमान खानले विद्यार्थीहरुको मागको समर्थन गर्दै शिक्षाको विषय भएकाले यसमा राजनीति गर्न नहुने बताएका छन् । त्यस्तै कमल हसनले पनि आन्दोलनको समर्थन गर्दै विद्यार्थीका माग सुन्नुपर्ने बताएका छन् ।

१३- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) ले गरेको कानुनी व्यवस्थाअनुसार स्थानीय तहमार्फत प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाएको हो । मन्त्रालयका अनुसार यस व्यवस्थालाई कार्यान्वयन गर्न ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको छ। कार्यविधिअनुसार प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ भने त्यससम्बन्धी परिपत्रसमेत सबै स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।अब प्रत्येक स्थानीय तहले भूमि बैंक स्थापना तथा सञ्चालन गरी बाँझो जग्गा उत्पादनमूलक उपयोगमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउनेछन् । मन्त्रालयले सम्बन्धित सबै जग्गाधनी तथा सरोकारवालालाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकसम्बन्धी व्यवस्थाको लाभ लिन आग्रह गरेको छ ।

१४- शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले ‘नेपो बेबी’ भन्दै प्रदर्शन गरेका छन् । त्रिभुवन बिश्वविद्यालयको ६७औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले नेपो बेबी भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।  उनीहरुले ‘नेपो बेबी मुर्दावाद’, ‘मेरिटोक्रेसी लागू गर’  लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

Nepal life insurance

१५- कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।   कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।  केन्द्रमा नेकपा एमाले-नेकपाबीच नयाँ समीकरण बनेको चर्चा चलिरहेको बेला कर्णालीमा भने नेकपाले आफ्नो अडान कायम राख्दै एमालेविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । यस अघि काँग्रेस संसदीय दलले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।   ४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।

१६-  अमेरिका र साउदी अरेबियाले नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौताले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको दीर्घकालीन सहभागिताको बाटो खोल्नेछ । अमेरिकी ऊर्जा विभागले यससँगै दुई देशबीच आणविक सुरक्षा तथा निगरानीसम्बन्धी अर्को द्विपक्षीय सम्झौतासमेत भएको जनाएको छ । यी दुवै सम्झौताले आगामी धेरै वर्षसम्म रहने अर्बौं डलरको ऊर्जा साझेदारीका लागि कानुनी आधार तयार गर्ने विभागको भनाइ छ । सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भविष्यमा साउदी अरेबियालाई आफ्नै भूमिमा युरेनियम प्रशोधन गर्न अनुमति दिने व्यवस्था समावेश हुन सक्ने अनुमान गरिएको छ । युरेनियम विद्युत् उत्पादनका लागि इन्धनका रूपमा प्रयोग गरिए पनि त्यसैलाई आणविक हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने भएकाले यस विषयले अन्तर्राष्ट्रिय चासो बढाएको छ । आणविक विज्ञहरूले यस्तो व्यवस्था लागू भए मध्यपूर्वमा आणविक हतियार विस्तारको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् । केही अमेरिकी र इजरायली पूर्वअधिकारीहरूले पनि यसले भविष्यमा साउदीको आणविक क्षमता उल्लेखनीय रूपमा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यद्यपि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सम्झौताले आणविक हतियारको विस्तारलाई कुनै पनि रूपमा प्रोत्साहन नगर्ने स्पष्ट पारेका छन् । उनका अनुसार अमेरिका कुनै पनि देशसँग यस्तो सम्झौता गर्ने पक्षमा छैन, जसबाट आणविक हतियार फैलिने जोखिम उत्पन्न होस् । यो सम्झौता अमेरिका-इरान तनाव चर्किरहेका बेला भएको हो । साउदी अरेबिया अमेरिकाको निकट सहयोगी राष्ट्र हो र त्यहाँ रहेका अमेरिकी सैन्य अड्डाहरू हाल इरान समर्थित आक्रमणको जोखिममा छन् । यस्तो अवस्थामा भएको सम्झौताले मध्यपूर्वको सुरक्षा र शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिएको छ । सम्झौता अब अमेरिकी संसदमा अनुमोदनका लागि पठाइनेछ । विपक्षी सांसदहरूको केही विरोधको सम्भावना रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन दलको दुवै सदनमा बहुमत रहेकाले यसको अनुमोदन हुने सम्भावना बलियो मानिएको छ ।

१७-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४५०५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८० मा कारोबार भएको थियो ।

१८- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पेपर लिक’ का घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गरिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले देशका युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । उनले प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय दिलाइने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने बताएका छन् । मोदीका अनुसार यस सम्बन्धमा सम्बन्धित मन्त्रालय, विभाग तथा अधिकारीहरूलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको छ । उनले विद्यार्थीको हित संरक्षणका लागि सरकारले लिइरहेका निर्णयमध्ये यो एउटा महत्वपूर्ण कदम भएको पनि बताएका छन् । उनले युवाको भविष्यसँग खेलबाड गर्ने कुनै पनि व्यक्तिलाई छुट नदिइने स्पष्ट गर्दै कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको यो घोषणा राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा ककरोच जनता पार्टीको नेतृत्वमा विद्यार्थी तथा युवाहरूले प्रश्नपत्र चुहावटका घटनाविरुद्ध प्रदर्शन गरिरहेका बेला आएको हो । मोदीले भनेका छन्-  ‘देशका युवाको हित र उनीहरूको भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो । प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय सुनिश्चित गर्न तथा मुद्दाको द्रुत सुनुवाइ र टुंगो लगाउन विशेष द्रुत अदालत गठन गरिनेछ। यस सम्बन्धमा सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाउने सुनिश्चित गर्न निर्देशन दिइसकिएको छ । विद्यार्थीको हित सुरक्षित गर्ने उद्देश्यले सरकारले लिइरहेका निर्णयहरूको शृङ्खलामा यो एउटा महत्वपूर्ण कदम हो । युवाको भविष्यसँग खेलबाड गर्ने कुनै पनि व्यक्तिलाई कुनै हालतमा छुट दिइने छैन ।’

१९- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको बताएका छन् । पुष्पलालको ४८औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले उपलब्ध प्राप्ति र सकारात्मक विषयमाथि प्रहार भइरहेको बताउदै देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको बताएका हुन् । प्रचण्डले फेरी एक पटक प्रतिगमनविरुद्ध सबै एक भएर आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै विगतमा युवाहरुलाई प्रशिक्षित गर्न नसकेको बताए । उनले अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको र प्राप्त उपलब्धिहरु संकटमा परेको अवस्थामा सबै मिल्नसक्ने जति मिलेर अगाडी बढ्नुपर्ने बताए ।प्रचण्डले आफुहरुले बामपन्थीहरुलाई एक ठाउमा ल्याउने प्रयास गरिरहेको र सबैले यस कार्यमा हातेमालो गर्न आग्रह गरेका छन् ।

२०- अष्ट्रेलियाली क्रिकेटर तथा सिड्नी थन्डरका कप्तान डेभिड वार्नरले मादक पदार्थ सेवनपछि सवारी चलाएको आरोप स्वीकार गरेपछि उनको कप्तानीमाथि प्रश्न उठेको छ । सुनुवाइमा वार्नर स्वयं अदालतमा उपस्थित हुनुपरेन । उनका कानुन व्यवसायी बबी हिलले इस्टर पर्वका दिन मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोप वार्नरले स्वीकार गरेको जानकारी दिए । प्रहरीका अनुसार अप्रिल ५ मा सिड्नीको पूर्वी क्षेत्रमा सडक परीक्षणका क्रममा वार्नरको सवारी रोकेर जाँच गरिएको थियो । त्यसपछि थप परीक्षणका लागि प्रहरी कार्यालय लगिएको वार्नरको रगतमा मदिराको मात्रा ०.१०४ प्रतिशत मापन गरिएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो । उनका कानुन व्यवसायीका अनुसार वार्नरले साथीको निवासमा तीन गिलास मदिरा सेवन गरेका थिए । त्यसपछि सार्वजनिक सवारी प्रयोग गर्नुको सट्टा आफैं सवारी चलाउने निर्णय गर्नु आफ्नो ठूलो गल्ती भएको उनले स्वीकार गरेका छन् । हिलले वार्नर आफ्नो गल्तीप्रति पछुतोमा रहेको र अदालतसँग नरम सजायको आग्रह गर्ने बताए । यद्यपि उनले अन्य नागरिकसरह कानुनी कारबाही भोग्न तयार रहेको पनि जनाइएको छ । यस मुद्दाको सजाय निर्धारण अगस्ट १८ मा हुने तय भएको छ । वार्नरले आरोप स्वीकार गरेसँगै सिड्नी थन्डरको कप्तानका रूपमा उनको भविष्य अन्योलमा परेको छ । सिड्नी थन्डर, सिड्नी सिक्सर्स र न्यु साउथ वेल्स ब्लुज राज्य सरकारसँग मिलेर मादक पदार्थ सेवनपछि सवारी नचलाउन जनचेतना अभियान सञ्चालन गर्दै आएका छन् । वार्नर पाकिस्तान सुपर लिगमा कराँची किङ्सको कप्तानी सम्हालेर फर्किने क्रममा पक्राउ परेका थिए । यसअघि सन् २०१८ मा दक्षिण अफ्रिकामा भएको बल छेडछाड प्रकरणपछि वार्नरमाथि आजीवन नेतृत्व गर्न प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्ध सन् २०२४ मा हटाइएपछि उनी सिड्नी थन्डरको कप्तान नियुक्त भएका थिए । अहिले भने नयाँ घटनाले उनको कप्तानी फेरि संकटमा परेको छ ।