अर्घाखाँचीका रमणीय स्थलमा छायाङ्कन गरिएको रक्तिम सांस्कृतिक अभियानको मौलिक कौरा गीत ‘सललल बग्यो गण्डकी’ सार्वजनिक (तस्बिर सहित )
श्रावण ९ गते, २०८३ मा प्रकाशित
-अर्घाखाँची डटकम।
अर्घाखाँची।नेपाली लोकसंस्कृति, कला र मौलिक कौरा भाकाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको नयाँ कौरा गीत ‘सललल बग्यो गण्डकी’ सार्वजनिक भएको छ। रक्तिम सांस्कृतिक अभियान, केन्द्रीय समितिद्वारा ‘रक्तिम विशेष साँझ–२०८३’ का अवसरमा सार्वजनिक गरिएको उक्त गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
लोकसंस्कृतिको मौलिक स्वाद बोकेको यस गीतमा चर्चित लोकगायक हेमराज आश्रम र रीता पुनको सुमधुर स्वर रहेको छ। गीतको शब्द, सङ्गीत, एरेञ्ज तथा निर्देशन हेमराज आश्रमकै रहेको छ। नेपाली मौलिक कौरा संस्कृतिलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दै तयार पारिएको गीतले लोकसङ्गीतप्रेमीलाई नयाँ अनुभूति दिलाउने विश्वास गरिएको छ।
गीतको रेकर्डिङ मुर्चुङ्गा स्टुडियोमा गरिएको हो। रमेश र गोविन्दले रेकर्डिङ, सञ्जय श्रीपालले मिक्सिङ, भरत र पोषणले खैजडी, अनुप दासले गितार तथा रत्न विकले बाँसुरी वादन गरेका छन्। गीतको कोरियोग्राफी मिना बुढाथोकी र सचित्र केसीले गरेका हुन् भने करण भण्डारीले क्यामेरा तथा ड्रोन छायाङ्कन गरेका छन्। भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका हुन् भने यसको निर्माण आश्रम म्युजिक, सितापाइला काठमाडौंले गरेको हो।
गीतको भिडियोमा विजय घर्ती मगर, विकास थापा मगर, रमेश पुन, उत्सव पुन, पल्लव राना, पूजा थापा, स्वर्णीम थापा, अस्मिता थापा, सृजना पुन तथा आरती रघुवंशीको आकर्षक अभिनय तथा नृत्य प्रस्तुत गरिएको छ।
यस गीतको सबैभन्दा विशेष पक्ष भनेको यसको मनमोहक छायाङ्कन हो। भिडियोका दृश्यहरू अर्घाखाँची जिल्लाका प्राकृतिक, धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ।
विशेषगरी सन्धिखर्क नगरपालिका–७ भालुखोला, दुवार, (मुकुन्द आचार्यको निवास परिसर) लगायतका रमणीय स्थानहरूलाई भिडियोमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। यसले अर्घाखाँचीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गीत निर्माणमा बसन्त खड्का, विष्णु केसी र विनोद गैरेले व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् भने यातायात व्यवस्थापन भुपाल बिसी र हिमाल बन्जाडेले गरेका छन्। निर्माण टिमले मुकुन्द आचार्य, जीवन पुन, गोपाल खनाल, माधवभाट क्षेत्री, लक्ष्मणदेव पाण्डे, सन्धिखर्क एफएम, दुर्गा फेन्सी, सगरमाथा दालमोठ, खनाल किचन एण्ड प्लास्टिक स्टोर लगायत सम्पूर्ण सहयोगी तथा शुभेच्छुकप्रति विशेष आभार व्यक्त गरेको छ।
त्यसैगरी थम्मन केसी, पशुपति ढकाल, कल्पना पोखरेल, यमला पोखरेल, बसन्त खड्का, सोम खत्री, राजचन्द्र केसी, गोपाल खनाल, गीता केसी, कविता केसी, रामतुला खड्का, रिता बन्जाडे पुन, टेकबहादुर केसी, विजय रानाभाट, गोविन्द बन्जाडे, विशाल केसी, गिरीप्रसाद बुढा, हरि सर्तुङ्गी, उषा पुन, कृष्टिना राई तथा सङ्गीता जिसी लगायत सहयोगीहरूप्रति पनि निर्माण पक्षले कृतज्ञता व्यक्त गरेको छ।
‘सललल बग्यो गण्डकी’ ले केवल एउटा मौलिक कौरा गीतको रूपमा मात्र नभई अर्घाखाँचीको प्राकृतिक सौन्दर्य, कला, संस्कृति, मौलिक परम्परा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने सशक्त माध्यमका रूपमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ। मौलिक लोकभाका, उत्कृष्ट शब्द–सङ्गीत, आकर्षक नृत्य र अर्घाखाँचीका मनमोहक दृश्यहरूको समिश्रणले सजिएको यस गीतले नेपाली लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्नेछ।