
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको बताउनुभएको छ ।
मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट वञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालले बताउनु भयो । सरकारले संसदमा प्रश्तुत गर्नका लागि १ सय ६६ वटा विधेयकहरूको सूची बुझाएको उल्लेख गर्दै उहाँले यस पटक संसदले पर्याप्त कार्यभार (बिजनेस) पाउने जानकारी दिनुभयो ।


सदनमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र सभामुखको भुमिकालाई लिएर गरिरहेको विरोधका सम्बन्धमा सचेतक धितालले संसदीय अभ्यास ‘सिक्दै र सुधार्दै’ लैजाने प्रक्रिया भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसका कारण हाम्रो व्यस्तता अझ बढ्ने देखिएको छ । ती विधेयकहरू हालसम्म वेबसाइटमा अपलोड भइनसके पनि सरकार ल्याउने तयारीमा छ । हामी संसदीय अभ्यासमा कतिपय कुराहरू नयाँ छौँ । पुराना खराब अभ्यासहरूलाई छोडेर नयाँ र सकारात्मक पद्धति अवलम्बन गर्ने क्रममा केही त्रुटिहरू देखिएका हुन सक्छन् । ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ ।’
सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतिपक्षी दलहरूलाई समेत विश्वासमा लिएर सरकार सबैको साझा हो भन्ने वातावरण निर्माण गर्न आफूहरू लागिपरेको धितालको भनाइ छ ।





