चिकित्सकको आन्दोलनको प्रभाव: अर्घाखाँची अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

अर्घाखाँची – नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनको प्रभाव अर्घाखाँची अस्पतालमा पनि परेको छ। आन्दोलनका कार्यक्रमअनुसार आज पनि अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका सबै नियमित स्वास्थ्य सेवाहरू स्थगित गरिएको छ।

अस्पताल प्रमुख डा. जगन्नाथ तिवारी का अनुसार नेपाल चिकित्सक संघको केन्द्रीय निर्णयलाई समर्थन गर्दै ओपीडी लगायत इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू आजका लागि बन्द गरिएको हो।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पताल मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको मागसहित देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत देशभरका सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवाहरू स्थगित गरिएका हुन्।

अर्घाखाँची अस्पतालले अत्यावश्यक स्वास्थ्य समस्या भएका बिरामीका लागि इमर्जेन्सी सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाने कार्यक्रम रहेको जिल्ला अस्पतालमा कार्यरत डाक्टर खगेन्द्र आचार्यले जानकारी दिनुभएको छ। अन्य स्वास्थ्य सेवाका लागि अर्को सूचना जारी नभएसम्म धैर्य गर्न तथा अस्पतालको सूचनालाई पछ्याउन सेवाग्राहीलाई आग्रह गरेको छ।

चिकित्सकहरूको आन्दोलनका कारण नियमित उपचार, ओपीडी सेवा तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका सेवाग्राही प्रभावित भएका छन।