सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सरकार गम्भीर बन्नुपर्छः पूर्वमन्त्री पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकार र सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले हालैका केही घटनाक्रमले सामाजिक सद्भाव बिथोलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

पुनले सामाजिक सद्भावको विषय कुनै दल विशेषको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गर्नुभयो ।

सरकारको भुमिका र जिम्मेवारीका सम्बन्धमा बोल्दै पुनले प्रधानमन्त्री र गृहमन्त्रीले यस्ता संवेदनशील विषयमा अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय बैठक आयोजना गरी सबै पक्षलाई विश्वासमा लिनुपर्ने र गृहमन्त्रीले संसद्मा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो। हाम्रो राज्य व्यवस्था र समाजले यो बहुलतालाई स्विकारिसकेको छ । कुनैपनि जाति वा सम्प्रदायले सामाजिक सद्भाव खलबलिने गतिविधि गर्नु हुँदैन । सशस्त्र प्रहरी बलले तीन वर्षअघि नै यस्ता घटना घट्न सक्ने प्रक्षेपणसहितको प्रतिवेदन दिएको भएपनि गृह प्रशासनले पूर्वतयारी र सतर्कता अपनाउन नसक्नु दुःखद् हो ।’

सुरक्षा संयन्त्रको कमजोरी औंल्याउँदै पूर्वमन्त्री पुनले समस्या समाधानका लागि प्रशासनिक बल प्रयोग वा सेना परिचालन गर्नुभन्दा पहिले राजनीतिक संवाद, स्थानीय सरकारको समन्वय र सामाजिक संघसंस्थाको परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्ला समयमा भएका हिंसात्मक घटना र गोली प्रहारको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग समेत उहाँले राख्नुभएको छ ।