आज यी जिल्लामा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज देशका प्रमुख नदीहरूको जलसतह आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने देखिएको छ। यद्यपि हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाइएको छ।

महाशाखाका अनुसार कोशी जलाधारअन्तर्गत सप्तकोशी (चतरा), तमोर (तिव्रीघाट), अरुण (रिस्ले), दूधकोशी (रुवाबजार), सुनकोशी (हर्कपुर) तथा तामाकोशी (खुर्ती) नदीको जलसतह आजदेखि आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।

त्यसैगरी नारायणी जलाधारका नारायणी (देवघाट), त्रिशूली (बेनीघाट), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (बिमलनगर), सेती (दमौली) र कालीगण्डकी (कुश्माटार) नदीमा पनि आगामी तीन दिन बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ।

कर्णाली जलाधारअन्तर्गत कर्णाली (चिसापानी), कर्णाली (असराघाट), भेरी (सम्झिघाट) र पश्चिम सेती (दिपायल) नदीको जलसतह पनि उल्लेख्य रूपमा बढ्ने महाशाखाले जनाएको छ।

महाकाली, कन्काई, कमला, बागमती र पूर्व राप्ती नदीमा पनि आगामी तीन दिन जलसतह उल्लेख्य रूपमा बढ्नेछ। पश्चिम राप्ती र बबई नदीमा आज सामान्य वृद्धि हुने भए पनि भोलि र पर्सिदेखि उल्लेख्य रूपमा बहाव बढ्ने अनुमान गरिएको छ।

यसैबीच, आज ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने चेतावनी दिइएको छ।

महाशाखाका अनुसार भोलि र पर्सि पनि सातै प्रदेशका केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र, होचा भूभाग र बाढीको जोखिम भएका स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।