रुसी नर्दर्न फ्लिटद्वारा बेरेन्ट्स सागरमा सैन्य अभ्यास सम्पन्न

रुसको नर्दर्न फ्लिटले बेरेन्ट्स सागरमा काल्पनिक शत्रुको नौसैनिक समूहलाई नष्ट गर्ने उद्देश्यका साथ सैन्य अभ्यास सम्पन्न गरेको छ ।

फ्लिटको प्रेस सेवाले सोमबार विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएको हो । प्रेस सेवाकाअनुसार उक्त अभ्यासमा फ्रिगेट ‘एडमिरल गोलोभ्को’ र मिसाइल क्रुजर ‘मार्शल उस्टिनोभ’ को नेतृत्वमा रहेको नौसैनिक स्ट्राइक समूहको सहभागिता रहेको थियो ।

यसका साथै ‘बास्टियन’ तटीय क्षेप्यास्त्र प्रणाली र विभिन्न चरणमा सैन्य विमानहरूले पनि उक्त अभ्यासमा सहयोग पु¥याएका थिए ।

अभ्यासको कार्ययोजनाअनुसार प्रारम्भमा जासुसी विमानहरूले काल्पनिक शत्रुको लक्ष्य पहिचान गरेका थिए। त्यसपश्चात् युद्धपोत, तटीय क्षेप्यास्त्र एकाइ र पनडुब्बीहरूले ३ सय किलोमिटरभन्दा बढी दूरीमा रहेका ती लक्ष्यहरूमाथि समन्वयात्मक रूपमा क्षेप्यास्त्र प्रहार गरेका थिए । उक्त प्रहारमा कालिबर, भल्कान, ओनिक्स र ग्रेनाइट जस्ता अत्याधुनिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको थियो । फ्लिटकाअनुसार सैन्य अभ्यासका क्रममा तोकिएका सबै लक्ष्यहरू सफलतापूर्वक भेदन गरिएको छ ।