‘स्पाइडर-म्यान’ को हजुर आमाको निधन, अभिनेत्रीको निधनले मार्बल कम्पनि दुःखित

काठमाडौं, २० साउन।  मार्वलको चलचित्र ‘स्पाइडर म्यान’ मा नेड लिड्सकी हजुरआमाको अविस्मरणीय भूमिका निर्वाह गरेकी अभिनेत्री मेरी रिभेराको निधन भएको छ।

८२ वर्षको उमेरमा उनले अन्तिम सास फेरिन्। हवाईकी बासिन्दा रिभेराको ‘स्ट्रोक’ का कारण निधन भएको हो। आफ्नो स्नेहपूर्ण व्यक्तित्व र उत्कृष्ट हाँस्य चेतनाका कारण उनले दर्शकहरू, विशेष गरी मार्वलका प्रशंसकहरू, माझ विशेष स्थान बनाएकी थिइन्।

स्ट्रोक भएलगत्तै ती अभिनेत्री कोमामा गइन्। जब चिकित्सकहरूले उनको निको हुने सम्भावना अत्यन्तै न्यून रहेको जानकारी परिवारलाई दिए, तब उनीहरूले उनलाई ‘लाइफ सपोर्ट’ अर्थात जीवन रक्षा प्रणालीबाट हटाउने कठिन निर्णय गरेका थिए ।

लोकप्रिय मार्भल चलचित्र ‘स्पाइडर म्यान’ मा मेरी रिभेराको यो पहिलो र अन्तिम अन स्क्रिन भूमिका थियो। उनले तागालोग भाषामा संवाद बोलेर आफ्नो पात्रलाई अविस्मरणीय बनाइन्।

मेरी रिभेराका परिवारमा उनका पति अलेजान्ड्रोका साथै छोराछोरी, ११ जना नातिनातिना र चार जना पनाति पनातिनीहरू छन्। परिवारका अनुसार, मार्वलसँग काम गर्नु उनको जीवनको सबैभन्दा अविस्मरणीय अनुभवहरूमध्ये एक थियो, विश्वकै सबैभन्दा लोकप्रिय सुपरहिरो चलचित्र शृङ्खलाको हिस्सा बन्न पाएकोमा उनी अत्यन्त खुसी र कृतज्ञ थिइन्।

मेरी रिभेराले आफ्नो करियरमा एउटा मात्र फिचर फिल्ममा अभिनय गरिन् तैपनि ‘स्पाइडर–म्यान’ मा उनको छोटो भूमिका दर्शकहरूमाझ अत्यधिक लोकप्रिय भयो। उनको त्यो छोटो दृश्यलाई फिल्मका सबैभन्दा यादगार क्षणहरूमध्ये एक मानिन्छ।

उनले चलचित्रमा नेड लिड्सकी फिलिपिनो हजुरआमाको भूमिका निर्वाह गरेकी थिइन । यो दृश्य तब अघि बढ्छ, जब एन्ड्र्यू गारफिल्डको ‘स्पाइडर म्यान’ मल्टिभर्सबाट अचानक नेडको घरमा आइपुग्छन्। यस्तो अप्रत्याशित परिस्थितिमा पनि रिभेराको पात्र पूर्ण रूपमा संयमित रहन्छिन्। सहज रूपमा तागालोग भाषामा कुरा गर्दै उनले स्पाइडर म्यानलाई छतबाट जालो सफा गर्न भन्छिन र त्यसपछि शान्तपूर्वक आफ्नो काममा लाग्छिन् । उनको यही स्वाभाविक अभिनयले यो दृश्यलाई दर्शकका लागि साँच्चै विशेष बनाएको छ ।

अभिनेत्री मेरी रिभेराकाे निधनमा मार्बल कम्पनिले दुःख ब्यक्त गरेकाे  छ।