
काठमाडौं, साउन २१ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (बिहीबार) अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई भू–भाग नजिक रहेकाले मौसम पूर्ण रूपमा बदली रहनेछ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कोशी, मधेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।


हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। रातिको समयमा पनि देशभर बदली रहने र पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
#WeatherUpdate #Monsoon #RainAlert #NepalWeather #ArghakhanchiCom





