
-केशव पन्थि अर्घाखाँची।
अर्घाखाँची, साउन २१ — भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। कार्यालयको तालिम हलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका योजना, बजेट तथा पशु स्वास्थ्य सेवा विस्तारसम्बन्धी कार्यक्रमबारे विस्तृत जानकारी गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कृषि र पशुपालनलाई जिल्लाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले किसानसम्म सरकारी सेवा प्रभावकारी रूपमा पुर्याउन सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख डा. प्रवेशसिंह कुँवरले आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यालयको अनुमानित बजेट ४ करोड १६ लाख ८१ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो। उक्त बजेट पशु स्वास्थ्य सेवा, रोग नियन्त्रण, खोप कार्यक्रम, कृत्रिम गर्भाधान, उन्नत जातका पशु प्रवर्द्धन, क्षमता विकास, किसान लक्षित कार्यक्रम तथा कार्यालयका विभिन्न शीर्षकमा खर्च गरिने उहाँले बताउनुभयो।


डा. कुँवरले पशुपालन व्यवसायलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउन कार्यालयले किसानलाई आवश्यक प्राविधिक सेवा, उपचार, खोप तथा परामर्श सेवा निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। उहाँले पशुजन्य रोग नियन्त्रण र उत्पादन वृद्धि कार्यालयको प्रमुख प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो।


कार्यक्रममा पशु चिकित्सक विष्णु प्रसाद पौडेलले पशु स्वास्थ्य व्यवस्थापन, रोगको समयमै पहिचान, नियमित खोप तथा आधुनिक पशुपालन प्रविधिको प्रयोगबारे जानकारी गराउनुभयो। उहाँले किसानलाई सरकारी सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्दै स्वस्थ पशु नै उत्पादन वृद्धि र किसानको आय बढाउने आधार भएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन पशु प्राविधिक सुन्दरलाल विकले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूले कार्यालयले उपलब्ध गराउँदै आएका सेवा–सुविधा, बजेट कार्यान्वयन, किसानले सेवा प्राप्त गर्दा भोग्नुपर्ने समस्या, पशु स्वास्थ्य सेवा विस्तार, औषधि तथा खोपको उपलब्धता, प्राविधिक जनशक्तिको अवस्था र आगामी योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए।


सहभागी पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै कार्यालय प्रमुख डा. कुँवरले सीमित स्रोत–साधन र जनशक्तिका बाबजुद किसानलाई गुणस्तरीय सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सञ्चारमाध्यमसँगको सहकार्यले सरकारी सेवा र कार्यक्रम किसानसम्म प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले वार्षिक कार्यक्रम सार्वजनिक गरिनु सकारात्मक अभ्यास भएको भन्दै यसले कार्यालयका योजना, बजेट र सेवा प्रवाहलाई थप पारदर्शी तथा जवाफदेही बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।


कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पशुजन्य रोग नियन्त्रण, दूध तथा मासु उत्पादन वृद्धि, उन्नत पशु प्रवर्द्धन, किसानको क्षमता अभिवृद्धि र पशुपालन व्यवसायलाई थप व्यावसायिक बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।






