ट्रम्प निकट एस्प्रियलाले लिए कोलम्बियामा राष्ट्रपतिको सपथ

काठमाडौं, २३ साउन । अबेलार्दो डे ला एस्प्रिएलाले शुक्रबार कोलम्बियाको राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

सो क्रममा उनले संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध सुदृढ गर्ने तथा लागुऔषधको कारोबारमा संलग्न सशस्त्र समूहहरूविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

४८ वर्षीय पूर्व वकिल एस्प्रिएलाको आगमनसँगै यो ‘एन्डियन राष्ट्र’ को राजनीति दक्षिणपन्थी धारतर्फ मोडिएको छ। निवर्तमान राष्ट्रपति गुस्ताभो पेट्रोका सहयोगी सिनेटर इभान सेपेडाविरुद्ध जुन २१ मा भएको कडा प्रतिस्पर्धात्मक ‘रनअफ’ अर्थात दोस्रो चरणको निर्वाचनमा विजयी भएपछि उनले पदभार सम्हालेका हुन्।

पद तथा गोपनीयताको शपथ लिएलगत्तैको सम्बोधनमा डे ला एस्प्रिएलाले दक्षिण अमेरिकी मुलुकबाट ‘लागूऔषध आतंकवाद’ को समूल अन्त्य गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याए।

संकटको शान्तिपूर्ण समाधानको पक्षमा रहेका आफ्ना पूर्ववर्तीको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘वार्ताको विकल्प अब पूर्ण रूपमा समाप्त भइसकेको छ।’
त्यसपछि डे ला एस्प्रिएलाले उक्त दक्षिण अमेरिकी राष्ट्रमा ‘व्यवस्था, अधिकार र स्वतन्त्रता’ पुनर्स्थापित गर्ने पनि वाचा गरेका छन् ।

‘राष्ट्रको स्थिरतालाई कमजोर पार्ने खालका कुनै पनि गतिविधिका लागि अब कुनै ठाउँ हुने छैन,’ ती कट्टरपन्थी नेताले भने । उनले पक्राउ परेका विद्रोही र लागुऔषध कारोबारीहरूलाई राख्न विशाल कारागारहरू खोल्ने बारे पनि कुरा गरेका छन्।

राजधानी बोगोटाको सट्टा, पदभार ग्रहण समारोह दक्षिण पश्चिमी सहर कालीस्थित एक विश्वविद्यालयमा सम्पन्न भयो।

कोलम्बियाको तेस्रो ठूलो सहर मानिने यो स्थान लागुऔषध ओसारपसारका मुख्य मार्गहरू र प्रशान्त महासागरको तट नजिकै अवस्थित छ, साथै यहाँ प्रतिद्वन्द्वी समूहहरूबीच हुने हिंसाका घटनाहरू नियमितजसो भइरहन्छन्।

विशिष्ट अतिथिहरूमा स्पेनका राजा फेलिपे छैठौं, अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्च, फिफा अध्यक्ष जियानी इन्फान्टिनो तथा अर्जेन्टिनाका जाभियर माइली, इक्वेडरका ड्यानियल नोबोआ र चिलीका होसे एन्टोनियो कास्टलगायत ल्याटिन अमेरिकी राष्ट्रपतिहरू समावेश थिए।

images

निवर्तमान राष्ट्रपति पेट्रोले समारोहमा उपस्थित हुन अस्वीकार गरेका थिए । र, कुनै प्रमाणबिना नै निर्वाचनमा धाँधली भएको दाबी गर्दै शुक्रबार व्यापक विरोध प्रदर्शनको आह्वान गरे।

images

४८ वर्षीय उनी एक पूर्व वकिल र व्यवसायी हुन् जसले यसअघि कहिल्यै कुनै सार्वजनिक पद सम्हालेका छैनन्।

उनले आफ्नो कानुन व्यवसायी फर्म तथा कृषि खाद्य, घरजग्गा र फेसन क्षेत्रका अन्य व्यावसायिक उद्यमहरूबाट प्राप्त नाफाको प्रयोग गरी आफ्नो चुनावी अभियानको खर्च जुटाएका थिए।

images

आफूलाई ‘एल टिग्रे’ अर्थात बाघ भनेर चिनाउने उनले विद्रोही समूहहरू, समा सन् १९९० र २००० को दशकमा चरम उत्कर्षमा पुगेको सशस्त्र द्वन्द्व मच्चाउने ‘फार्क’ गुरिल्लाका बाँकी लडाकुहरू पनि समावेश छन, विरुद्धको

लडाइँमा सहयोग पुर्‍याउन अमेरिका र इजरायलसँग सैन्य गठबन्धन गर्ने योजना बनाएका छन्।

लागूऔषध ओसारपसार विरुद्ध लड्न अमेरिका समर्थित ‘शिल्ड अफ द अमेरिकाज’ नामक गठबन्धनमा कोलम्बियालाई सामेल गराउने प्रतिबद्धता जनाएपछि डे ला एस्प्रिएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त गरेका थिए । उनले वासिङ्टनसँग संयुक्त सैन्य कारबाही सञ्चालन गर्ने र कोलम्बियाको भूमिमा अमेरिकी सेनालाई तैनाथ हुन दिने प्रस्ताव पनि अघि सारेका छन्।

ती करोडपति नेताले इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने तथा क्युबा र निकारागुवासँगको सम्बन्ध तोड्ने योजनाको पनि घोषणा गरेका छन्।

Nepal life insurance

सुरक्षासम्बन्धी समस्याहरूमा कडा कदम चाल्ने वाचा गरेका डे ला एस्प्रिएलाको जित चिलीदेखि कोस्टारिकासम्म भएका चुनावी विजयहरूपछि ल्याटिन अमेरिकामा दक्षिणपन्थी राजनीतिले हासिल गरेको अर्को सफलता हो।