इजरायलमा ‘योम किपुर’ को रौनकः सार्वजनिक सेवा बन्द, आत्मशुद्धिको पर्वमा देश ठप्प

हिब्रु पात्रोअनुसार वर्षकै सबैभन्दा पवित्र र महत्वपूर्ण दिन मानिने ‘योम किपुर’ (प्रायश्चितको दिन) को अवसरमा इजरायलमा जनजीवन पूर्णतः ठप्प भएको छ । आईतवार साँझदेखि नै मुलुकभरका सार्वजनिक यातायात, हवाई उडान र व्यावसायिक गतिविधिहरू रोकिएका छन्।आइतबार दिउँसो १ः०० बजेदेखि इजरायलको प्रमुख प्रवेशद्वार बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरेको छ । विमानस्थल प्राधिकरणकाअनुसार मंगलबार बिहानबाट मात्र सेवाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

यातायातको क्षेत्रमा रेल, बस र लाइट रेल सेवाहरू समेत बन्द गरिएका छन् भने सोमवार राति पर्वको समापन नहुन्जेलसम्मका लागि सडकहरूमा सवारी साधन चलाउन प्रतिवन्ध लगाइएको छ । तेल अविवका मुख्य सडकहरूमा सुरक्षा र नियमनका लागि ठूला ट्रकहरू तेस्र्याइएका छन् ।

सहरका व्यस्त चोक र रेस्टुरेन्टहरू सुनसान देखिएका छन् भने सडकमा सवारीको साटो स्थानीय बासिन्दा, साइकलयात्री र पैदलयात्रुहरू देखिएका छन् ।
योम किपुर, जसलाई ’प्रायश्चितको दिन’ भनिन्छ, यहुदी समुदायका लागि आत्मचिन्तन र पश्चातापको अवसर हो। यस दिन धेरैजसो यहुदीहरू व्रत बस्छन् र सिनागग (प्रार्थना गृह) मा गएर अधिकांश समय धार्मिक अनुष्ठानमा बिताउँछन् । इजरायली कानुनअनुसार यस दिन अधिकांश व्यवसाय, मनोरञ्जन स्थल र कार्यालयहरू अनिवार्य रूपमा बन्द गरिन्छन् ।

यसैबीच, सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै इजरायलले वेस्ट बैंकतर्फको नाकाहरूमा पनि विशेष कडाइ गरेको छ । पर्व अवधिभर प्यालेस्टिनीहरूको आवतजावतमा रोक लगाउँदै इजरायल र उक्त क्षेत्रबीचका सबै सीमा नाकाहरू बन्द गरिएको छ ।