
प्योङयाङ, २४ साउन । उत्तर कोरियामा हाल अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ। उत्तर कोरियाको सरकारले ‘गर्मीले गर्मीलाई नै काट्छ’ भन्ने मान्यताका आधारमा गर्मीको सामना गर्न केही अनौठा घरेलु उपायहरू अपनाउन प्रोत्साहन गरिरहेको छ।
सरकारी सञ्चारमाध्यमहरूका अनुसार यस्तो असह्य गर्मीको समय सामना गर्नका लागि नागरिकहरूलाई कुकुरको मासुको सुप पिउन, जिनसङको झोल र अन्य ताता परिकारहरू सेवन गर्न सुझाव दिइरहेका छन्। सरकारको दाबी छ कि यस्ता खानेकुराले शारीरिक शक्ति बढाउँछन् र शरीरलाई गर्मीको सामना गर्न मद्दत गर्छ।

यतिखेर सम्पूर्ण कोरियाली प्रायद्वीपमा कीर्तिमानी गर्मी महसुस गरिएको छ। दक्षिण कोरियामा गर्मीका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ। गत साता तीन छुट्टाछुट्टै दिनमा तापक्रमको नयाँ कीर्तिमान कायम भयो । गत आइतबार मात्रै तापमान मापन गर्ने चलन सुरू भएयताकै सबैभन्दा बढी तापक्रम ४२.५ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड दक्षिण कोरियामा बनेको थियो ।


यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँ पनि तापक्रम ४० डिग्री सेल्सियस पुगेको उल्लेख गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले प्रायः निरंकुश सर्वोच्च नेता किम जोङ उनबाट आउने सैन्य धम्कीसम्बन्धी समाचार प्रसारण गर्ने गरे पनि यसपटक भने सरकारी सञ्चारमाध्यमले गर्मी छल्न कस्तो परिकार पकाउने भन्नेबारे मानिसहरूलाई सुझाव दिइरहेका छ। उत्तर कोरियाली शाषकले पनि गर्मीवाट मुक्त पाउनका लागि आफ्ना नागरिकहरूलाई भनिरहेका छन, ‘गर्मी धेरै भए, उसो भए कुकुरको सुप खानुहोस् ।’

उत्तर कोरियाको सरकारी अखबार ‘रोदोङ सिनमुन’ को एक समाचार अनुसार गत आइतबारको कीर्तिमानी गर्मीका बेला एक चिकित्सकले कुकुरको मासुको सुप पोषक तत्वको पुनःपूर्तिका लागि लाभदायक हुन सक्ने बताएका थिए ।
बुधबार पनि सरकारी समाचार संस्था ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’ले मानिसहरूलाई ‘सामग्येताङ’ सेवन गर्न सुझाव दिएको थियो, यो एक प्रकारको सुप हो जसमा सिंगो कुखुराभित्र टाँसिने खालको चामल, खजुर र स्फूर्तिदायी जिनसेंग भरिएको हुन्छ।


‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार कोरियामा एउटा यस्तो भनाइ छ कि जुन कुराले रोग निम्त्याउँछ, त्यसैले रोग निको पनि पार्न सक्छ। गर्मीयामका सबैभन्दा तातो दिनहरूमा तातो खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने विश्वास कोरियालीहरूमा लामो समयदेखि रहिआएको छ। यद्यपि, एसियाका अन्य धेरै देशहरूमा परम्परागत चिकित्सा अभ्यास यस सन्दर्भमा भिन्न छ, त्यहाँ गर्मीको समयमा शरीरलाई शीतलता प्रदान गर्ने परिकारहरू जस्तै ‘विन्टर मेलन’ अर्थात एक प्रकारको खरबुजाको सुप बढी रुचाउने गरिन्छ।
अर्को एउटा कुरा, दक्षिण कोरियामा कुनै समय गर्मीयाममा कुकुरको मासुलाई विशेष परिकार मानिन्थ्यो तर सन् २०२७ को फेब्रुअरीदेखि यसमा पूर्ण प्रतिबन्ध लागू हुँदैछ तर उत्तर कोरियाले भने कुकुरको मासु माथी प्रतिबन्ध लगाउनुको सट्टा सुप बनाएर खान नागरिकलाई प्रेरित गरिरहेको छ ।




