
सर्लाही, २५ साउन। प्रहरी हिरासतमा रहेका व्यक्तिलाई रकम लिएर छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको आरोप लागेका अर्का व्यक्ति फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचैन भन्ने अवधेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै चौधरीले रकम लिएको आरोप छ। उनले सोही स्थानका राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावमा पार्ने भन्दै हिरासतमा रहेका व्यक्तिलाई छुटाउन रकम असुली गरेको आरोप लागेको प्रहरीले जनाएको छ।


चौधरीलाई साउन २३ गते पक्राउ गरिएको हो। पक्राउ परेका चौधरीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटना सार्वजनिक भएपछि आरोपितमध्येका राजेन्द्र राय फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए।
प्रहरीले नागरिकलाई ठगी तथा गैरकानुनी रकम असुलीबाट सचेत रहन आग्रह गरेको छ। डिएसपी गौतमले नेपाल प्रहरीले प्रदान गर्ने सबै प्रकारका प्रहरी सेवा निःशुल्क हुने स्पष्ट पार्दै प्रहरीको नाममा कसैले रकम मागेमा वा यस्तै गतिविधि गरेको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।





