प्रतिबन्धको अवज्ञा गर्दै डिजे बजाउने २ जना सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही, २५ साउन । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै डिजे बजाउन प्रतिबन्ध लगाइएको अवस्थामा आदेशको अवज्ञा गर्दै ठूलो आवाजमा डिजे बजाएको आरोपमा सर्लाही प्रहरीले डिजे जडित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समिति सर्लाहीको निर्णयविपरीत मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी ठूलो आवाजमा डिजे बजाइएको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

प्रहरीले मलंगवा नगरपालिका–९ गोरखकालीबाट डिजे जडित बा।१५ च ४२९१ नम्बरको गाडी नियन्त्रणमा लिएको हो। गाडीमा जडान गरिएका विभिन्न साउण्ड
सिस्टमका सामग्रीसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

डिजेसहित नियन्त्रणमा लिइनेमा हरिपुर नगरपालिका–७ का ५५ वर्षीय जोगेश्वर पण्डित रहेका छन्। उनी डिजे सञ्चालक हुन्। त्यस्तै, बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह पनि पक्राउ परेका छन्। उनी डिजे जडित गाडीका चालक हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार नियन्त्रणमा लिइएको गाडी, डिजेसम्बन्धी सामग्री तथा व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण हुने गरी डिजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। आदेशको अवज्ञा गरी त्यस्ता गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।