
-धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकी, स्वास्थ्य सेवा केन्द्र, बर्थिङ सेन्टर तथा आधारभूत अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाको समग्र अवस्थाबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

समीक्षा कार्यक्रममा गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत आफ्नो संस्थामार्फत सञ्चालित कार्यक्रम, उपलब्धी तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए । स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्यांकका आधारमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार तथा प्रगति भएको देखिएको जनाइएको छ । थप सुधार गर्नुपर्ने विषयमा याेजना समेत निर्माण गरि अगाडी बढ्ने जनाइएको छ ।


कार्यक्रममा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवा, कार्यक्रमको उपलब्धी, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर थप सुधार गर्न अपनाउनुपर्ने रणनीतिबारे बृहत छलफल गरिएको छ । साथै स्वास्थ्य क्षेत्रमा स्थानीय तह, स्वास्थ्य संस्था तथा साझेदार संघसंस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले उपलब्ध स्राेत र जनशक्तिबाट सक्दाे बढी उपयोग गरी भएका कमीकमजोरीलाई सुधार गर्दै स्वास्थ्य संस्थाबाट नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै समीक्षा कार्यक्रमले आगामी योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।


अध्यक्ष थापाले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको संरक्षण गर्दै अझै सुधार गर्नुपर्ने पक्ष पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा साझेदार संघसंस्थाबीचको सहकार्यले गाउँपालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले उपलब्ध तथ्यांक र प्रगतिको समीक्षा गर्दै आगामी कार्यक्रम तथ्यांकमा आधारित र आवश्यकतामुखी बनाउनुपर्ने बताए । उनले स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै सेवाग्राहीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर कलवारले गाउँघरका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न स्थानीय तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले स्वास्थ्य संस्थाको भौतिक अवस्था, जनशक्ति तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।


वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ का स्वास्थ्य कार्यक्रमको उपलब्धी, चुनौती र आगामी कार्यदिशा पहिचान गर्न महत्वपूर्ण आधार तयार गरेको जनाइएको छ ।




