
बुटवल । प्युठानको झिमरुक गाउँपालिका–३ लामासेरमा यात्रुबाहक जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बाग्दुलाबाट गौमुखीतर्फ जाने सडकमा नारीकोटबाट बाग्दुलातर्फ आउँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स जिप ब्रेक फेल भएर सडकमा पल्टिएको हो । जिपमा चालकसहित १४ जना सवार थिए ।

घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये २८ वर्षीय रबी सुनारलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।


घाइते हुनेमा गौमुखी गाउँपालिका–७ नारीकोटका ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, २८ वर्षीय रबी सुनार, ३५ वर्षीया सीता रोका, उनका १० वर्षीय छोरा रबिन रोका, ५ वर्षीय सरप्राइज केसी तथा गुल्मीको मदाने गाउँपालिका–१ की २८ वर्षीया शान्ता परियार रहेका छन् ।
जिपका चालक गौमुखी–७ नारीकोटका २५ वर्षीय ऋषीराम केसी रहेका छन् । प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





