अमेरिकीद्वारा १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा रद्धः ट्रम्प प्रशासनको अध्यागमन नीतिमा कडाइ

अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जानकारी दिएको छ । मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसाहरू रद्ध गरिएको स्पष्ट पारेको हो ।

मन्त्रालयकाअनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी र लागुऔषध सम्बन्धी अपराधहरू भिसा रद्ध हुनुका मुख्य कारण रहेका छन् । यसका साथै लापरवाहीपूर्ण ढङ्गले सवारी चलाएको, यौनजन्य हिंसा, बाल दुव्र्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा पनि ठूलो संख्यामा रद्ध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयले भिसालाई अधिकार नभई एक ‘विशेषाधिकार’ को रूपमा व्याख्या गर्दै भनेको छ, ‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन । यसको दुरुपयोग गर्नेहरूबाट हाम्रा समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानूनी संयन्त्रहरूको प्रयोग गर्न विभाग प्रतिवद्ध छ ।’

डोनल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै उनको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गरेको छ । यस नीति अन्तर्गत कागजपत्रविहीन आप्रवासीहरू विरुद्ध कडा कदम चाल्नुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिहरूको समेत सुक्ष्म निगरानी र छानबिनलाई तीव्रता दिइएको छ ।