लाल बकैया तटबन्ध भत्किने जोखिम बढ्यो, मौलापुरका ५ वडासहित बौधिमाईमा बाढी पस्ने खतरा

सञ्जय मिश्रा
रौतहट, २६ साउन । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लाल बकैया नदीको तटबन्ध तीव्र कटानका कारण जोखिममा परेको छ।

तटबन्ध संरक्षणका लागि सरकारी तथा स्थानीय निकायले प्रयास गरे पनि नदीको बहाव नरोकिँदा कटान थप बढ्दै गएको छ। तटबन्धको ठूलो हिस्सा कटान भइसकेको र बाँकी संरचना पनि कमजोर अवस्थामा रहेकाले माथिल्लो क्षेत्रमा ठूलो वर्षा भए नदीको पानी तटबन्ध पार गरेर बस्तीमा पस्न सक्ने जोखिम बढेको हो।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र मौलापुर नगरपालिकाको समन्वयमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले तटबन्ध जोगाउन विभिन्न प्रयास गर्दै आएको छ। तर नदीको निरन्तर बहाव र कटानका कारण गरिएका प्रयास प्रभावकारी हुन नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवका अनुसार तटबन्धको बाँकी भागसमेत नदीले बगाएमा मौलापुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ प्रत्यक्ष प्रभावित हुनसक्छन्।

उनका अनुसार नदीको पानी बस्तीमा प्रवेश गरेमा छेउछाउका खेतबारीमा मात्रै नभई घर तथा मानव बस्तीसमेत डुबानमा पर्न सक्ने अवस्था छ। बौधिमाई नगरपालिकाको अजगैबी क्षेत्रसमेत प्रभावित हुनसक्ने उनले बताए। ‘अहिले नै काम नगरे ठूलो क्षति हुन सक्छ,’ उनले भने  ।

लाल बकैया नदीको तटबन्धमा देखिएको कटानलाई सामान्य रूपमा लिन नहुने स्थानीय जनप्रतिनिधिको भनाइ छ। माथिल्लो क्षेत्रमा हुने वर्षाका कारण नदीमा पानीको सतह बढे कमजोर बनेको तटबन्ध कुनै पनि बेला भत्किन सक्ने जोखिम छ।

तटबन्ध पूर्ण रूपमा भत्किएमा नदीको पानीलाई पुरानै धारमा नियन्त्रण गर्न कठिन हुने र खेतबारी हुँदै सिधै बस्तीमा प्रवेश गर्न सक्ने अवस्था देखिन्छ।

त्यसैले जोखिमयुक्त क्षेत्रमा तत्काल ग्याबियन जाली, ढुंगा, बालुवाका बोरा तथा अन्य कटान नियन्त्रण सामग्री प्रयोग गरी तटबन्ध मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ। साथै सम्भावित बाढीलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले पूर्वतयारी तथा उद्धारका लागि आवश्यक स्रोत–साधन तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ।

वर्षायाम अझै बाँकी रहेकाले समयमै तटबन्ध संरक्षण गर्न नसकेमा पछिल्लो वर्षजस्तै ठूलो क्षेत्र डुबानमा पर्ने र कृषकको खेती तथा बस्तीमा क्षति पुग्ने सम्भावना रहेको स्थानीयको चिन्ता छ।

images

जोखिम बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था निगरानी गर्न, रातिको समयमा विशेष सावधानी अपनाउन तथा पानीको सतह अस्वाभाविक रूपमा बढेमा सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।

स्थानीयले भने तटबन्धको अवस्था तत्काल निरीक्षण गरी दीर्घकालीन समाधानसहित युद्धस्तरमा कटान नियन्त्रणको काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

images