बिराटनगरलाई हरित शहर बनाउने पारुलको सपना

मोरङ, २६ साउन । जिल्ला सदरमुकाम तथा औद्योगिक सहरका रूपमा स्थापित विराटनगर अहिले कोशी प्रदेशको राजधानीसमेत हो  । ऐतिहासिक विरासत बोकेको यो सहर विकासको गतिसँगै अघि बढिरहेको छ  । सडक, ढल तथा भौतिक संरचना निर्माणले तीव्रता पाएको छ। तर, तीव्र सहरीकरणसँगै वातावरणीय पक्ष भने ओझेलमा पर्दै गएको देखिन्छ  ।

यही अवस्थाले विराटनगर-५ निवासी ४८ वर्षीय पारुल क्षेत्रीलाई चिन्तित बनायो  । विकास आवश्यक भए पनि हरियाली र वातावरण संरक्षणबिना सहर पूर्ण हुन नसक्ने सोचले उनलाई एउटा फरक अभियानमा अघि बढायो- ‘पारुलको हरियाली विराटनगर’ ।

राजनीतिक रूपमा विभिन्न संघसंस्थामा सक्रिय रहँदादेखि नै क्षेत्री वातावरण संरक्षणमा चासो राख्थे  । समय–समयमा बिरुवा रोप्ने तथा सरसफाइ अभियानमा सहभागी हुँदै आएका उनले २०७९ सालको स्थानीय तह निर्वाचनपछि भने नियमित रूपमा आफ्नै पहलमा अभियान सञ्चालन गर्ने निर्णय गरे  ।

त्यसपछि उनले सार्वजनिक स्थानमा हरेक दिन कम्तीमा एउटा बिरुवा रोप्ने अभियान सुरु गरे  ।

सुरुवाती दिनमा उनी एक्लै थिए  सार्वजनिक स्थानमा बिरुवा रोप्दै हिँड्दा कतिपयले ‘के गरेको होला?’ भन्दै खिसिटिउरी गर्थे  । आफूले रोपेका बिरुवा भाँचिदिने, कतिपय बिरुवा बाख्राले खाइदिने जस्ता समस्या पनि उनले भोगे ।

तर, नकारात्मक टिप्पणी र अवरोधले उनको उत्साह रोकिएन  ।

‘आज रोपेको बिरुवा भोलि ठूलो रुख बन्छ’ भन्ने विश्वासका साथ उनी निरन्तर अभियानमा लागिरहे  । परिणामस्वरूप चार वर्षको अवधिमा उनले करिब १८ हजार बिरुवा रोपिसकेका छन्  ।

एक्लै सुरु गरेको अभियान विस्तारै सामूहिक बन्दै गएको छ  । क्षेत्रीको अभियानको प्रभाव देखिन थालेपछि स्थानीय संघसंस्था, विभिन्न व्यक्ति, व्यवसायिक प्रतिष्ठान तथा विद्यार्थीहरू पनि अभियानमा जोडिन थालेका छन्  ।

 

images

बिरुवा रोप्नेमात्र होइन, त्यसको संरक्षणमा समेत सहयोग जुट्न थालेको क्षेत्री बताउँछन् । बिरुवा जोगाउन आवश्यक जालीलगायत सामग्रीसमेत विभिन्न व्यक्ति तथा संस्थाबाट उपलब्ध हुन थालेका छन्   ।

‘बिरुवा रोप्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई हुर्काउनु अझ ठूलो जिम्मेवारी हो’ भन्ने मान्यता राख्ने क्षेत्रीले रोपेका बिरुवा अहिले विराटनगरका विभिन्न सार्वजनिक स्थलमा हुर्किरहेका छन्  ।

images

आफूले रोपेको बिरुवाको छहारीमा मानिसहरू बसेर शीतल तापेको देख्दा उनलाई अभियान सफल हुँदै गएको अनुभूति हुन्छ  ।

images

“मैले रोपेको बिरुवाको छहारीमा मानिसहरू बसेर शीतल तापेको देख्दा निकै आनन्द लाग्छ,” क्षेत्रीको भनाइ छ, “त्यो दृश्यले मैले सुरु गरेको अभियान सार्थक बन्दै गएको महसुस हुन्छ” ।

विराटनगरमा बढ्दो सहरीकरण र भौतिक विकासबीच हरियालीको आवश्यकता झन् बढ्दै गएको छ  । यस्तो अवस्थामा कुनै संस्था वा सरकारको भर नपरी एक व्यक्तिले निरन्तर चार वर्षसम्म सञ्चालन गरेको यो अभियानले वातावरण संरक्षणका लागि व्यक्तिगत पहलको महत्वसमेत देखाएको छ  ।

पारुल क्षेत्रीको अभियान अहिले एउटा व्यक्तिको प्रयासमा मात्र सीमित छैन  । एक्लै रोपेको एउटा बिरुवाबाट सुरु भएको अभियान आज हजारौँ बिरुवा र सयौँ हातसँग जोडिन थालेको छ  ।

सहरलाई सुन्दर बनाउने काम केवल सडक, भवन र संरचना निर्माण गरेर पूरा हुँदैन  । त्यसका लागि हरियाली पनि उत्तिकै आवश्यक हुन्छ। यही सन्देश बोकेको ‘पारुलको हरियाली विराटनगर’ अभियानले विराटनगरको वातावरणीय यात्रामा एउटा सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको छ  ।

Nepal life insurance