
सिरियाको राजधानी दमास्कसस्थित एक फौजदारी अदालतले पूर्वराष्ट्रपति बसर अल–असद र अन्य धेरै पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । दमास्कसको चौथो फौजदारी अदालतले असदलाई हत्या र हत्याका लागि दुरुत्साहन गरेको अभियोगमा सर्वसम्मत रूपमा दोषी ठहर गरेको हो ।
हाल विदेशमा रहेका असदलाई उनको अनुपस्थितिमा यो फैसला सुनाइएको अदालतको कारबाही सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । अदालतले पूर्व वरिष्ठ सुरक्षा अधिकारी आतिफ नजिबलाई पनि सिरियाली द्वन्द्वका क्रममा भएको हत्या र दुव्र्यवहारमा संलग्न रहेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।


नजिब र असदसँगै कुल नौ जना पूर्व अधिकारीहरूलाई मृत्युदण्डको फैसला गरिएको समाचारमा जनाइएको छ । नजिबविरुद्धको यो फैसला महिनौंसम्म चलेको अदालती प्रक्रियापछि आएको हो। उनको नाम सन् २०११ मा सिरियाको दक्षिणी शहर दराआमा भएको घटनासँग जोडिँदै आएको छ, जसले देशव्यापी अशान्ति र गृहयुद्धको बीजारोपण गरेको थियो ।

सन् २०११ को मार्चमा दराआमा प्रदर्शन सुरु हुँदा नजिब त्यहाँको राजनीतिक सुरक्षा शाखाको प्रमुख थिए । उनीमाथि सरकार विरोधी नारा लेखेको आरोपमा स्कूली बालबालिकाहरूलाई हिरासतमा लिएको, उनीहरूमाथि चरम दुव्र्यवहार गरेको तथा अन्य दमनकारी गतिविधिहरू सञ्चालन गरेको अभियोग लगाइएको थियो । डिसेम्बर २०२४ मा बसर अल–असदको सरकार पतन भएपछि सिरियाका नयाँ अधिकारीहरूले नजिबलाई सन् २०२५ जनवरीमा तटीय प्रान्त लाटाकियाबाट पक्राउ गरेका थिए ।




