मकैमा अनौठो समस्या : बोट राम्रै बढे पनि घोगा नलागेपछि किसान चिन्तित (तस्बिर सहित)

-केशव पन्थी/अर्घाखाँची डटकम

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ शान्ति बगैंचा नजिकै एक किसानको बारीमा मकैको बोट राम्रैसँग बढे पनि घोगा नलाग्ने तथा लागेका घोगासमेत असामान्य देखिने समस्या देखिएपछि किसान चिन्तित बनेकी छन्।

स्थानीय किसान सीता अधिकारीले यस वर्ष आफ्नो बारीमा ‘सिपि’ जातको मकै लगाउनुभएको थियो। मकै राम्रोसँग उम्रिएर बोटसमेत हरियो र स्वस्थ देखिएपछि राम्रो उत्पादन हुने अपेक्षा गरेकी अधिकारीले मकै पाक्ने समय नजिकिँदै गर्दा अधिकांश बोटमा घोगा नै नलागेको अवस्था देख्नुपरेको बताउनुभयो।

May be an image of grass

अधिकारीका अनुसार बारीमा रहेका धेरैजसो मकैका बोटमा अहिलेसम्म घोगा लागेको छैन। केही बोटमा घोगा लागे पनि सामान्य मकैको भन्दा फरक र असामान्य किसिमको देखिएको उहाँको भनाइ छ।

“मकै राम्रो हुन्छ भनेर लगाएको हो। बोट पनि राम्रै भयो, तर घोगा लाग्ने समयमा धेरै बोटमा घोगा नै लागेन। केहीमा घोगा लागेको छ, त्यो पनि अचम्मको तरिकाले लागेको छ,” अधिकारीले भन्नुभयो।

मकै पाक्ने समयसम्म पनि दाना राम्रोसँग विकास नभएपछि आफू थप चिन्तित भएको उहाँले बताउनुभयो। बोटको वृद्धि राम्रो भए पनि उत्पादन दिने मुख्य चरणमा घोगा र दाना विकास नहुँदा यस वर्षको उत्पादनमा ठूलो असर पर्न सक्ने उहाँको भनाइ छ।

कारणबारे अन्योल

मकैमा देखिएको यस्तो समस्याको वास्तविक कारणबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन। रोग तथा कीराको प्रभाव, मकैको जात वा बीउको गुणस्तर, मौसमको प्रभाव, मलखादको अवस्था, परागसेचनमा आएको समस्या वा अन्य कारणले यस्तो अवस्था आएको हुन सक्ने स्थानीयस्तरमा अनुमान गरिए पनि कृषि प्राविधिकबाट परीक्षण तथा निरीक्षण नभएसम्म कारण पुष्टि हुन नसक्ने अवस्था रहेको छ।

स्थानीय बासिन्दाले समेत हरियो र स्वस्थ देखिने मकैका बोटमा घोगा नलाग्नु तथा लागेका घोगा असामान्य देखिनु आफूहरूले कमै देखेको बताएका छन्। बारीमा देखिएको अनौठो अवस्थाले बाटो हिँड्ने मानिसको समेत ध्यान तान्ने गरेको किसान अधिकारीले बताउनुभयो।

कृषि प्राविधिकबाट निरीक्षणको माग

किसान अधिकारीले मकैमा देखिएको समस्याको प्राविधिक कारण पहिचान गर्न कृषि प्राविधिक तथा सम्बन्धित निकायले बारीमै आएर निरीक्षण गरिदिनुपर्ने माग गर्नुभएको छ।

images

मकैको जात, बीउको गुणस्तर, मलखादको प्रयोग, मौसम तथा परागसेचनको अवस्था अध्ययन गर्नुका साथै सम्भावित रोग तथा कीराको प्रभावसमेत परीक्षण गरेपछि मात्रै समस्याको वास्तविक कारण पत्ता लाग्न सक्ने उहाँको अपेक्षा छ।

मकैमा घोगा नलाग्ने, घोगा लागे पनि दाना नपसाउने वा घोगाको आकार असामान्य हुनेजस्ता समस्या देखिएमा किसानले आफैं अनुमान गरेर औषधि प्रयोग गर्नुभन्दा सम्बन्धित कृषि प्राविधिकको सल्लाह लिनुपर्ने आवश्यकता देखिएको छ।

images

सीता अधिकारीको बारीमा देखिएको यो असामान्य अवस्थाले बालीको अन्तिम चरणमा देखिने समस्याको समयमै पहिचान, प्राविधिक परीक्षण र किसानलाई आवश्यक परामर्श उपलब्ध गराउनुपर्ने विषयलाई समेत उजागर गरेको छ।