वार्षिक एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह

सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्युन लक्ष्यमा मात्र सिमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले मुलुकको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तिब्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनु भयो ।

विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । विगतका कमजोरीहरूका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हितमा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पर्यटन पूर्वाधारको प्रसङ्गमा अर्यालले व्यवस्थित ‘टुरिस्ट बस पार्क’को आवश्यकता औँल्याउनु भयो । हवाई यात्राका लागि विमानस्थल जानुपर्ने नियम जस्तै पर्यटकीय सवारीका लागि पनि तोकिएकै बस पार्क हुनुपर्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘आज विश्व पर्यटन द्रुत गतिमा रूपान्तरण भइरहेको छ । प्रविधिको विकास, पर्यटकका बदलिँदा चाहना र विश्वव्यापी प्रतिस्पर्धाबीच हामीले आफूलाई खरो उतार्नुपर्ने चुनौती छ । भूकम्प, महामारी र अन्तर्राष्ट्रिय मन्दीजस्ता आरोह–अवरोह पार गरेको हाम्रो पर्यटन उद्योग अब पुनः उठ्ने मात्र होइन, दौडिने तयारीमा छ । त्यसका लागि पर्यटनमैत्री कानून, पूर्वाधार विकास र प्रभावकारी अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको भरपर्दो साथ आवश्यक छ । हामी २० लाख, ३० लाख पर्यटकको मात्र कुरा नगरौँ, अब ८८१ करोड पर्यटक भित्र्याउने लक्ष्य८८ राखौँ। ठूलो सपना देखे मात्रै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । पर्यटक किन घट्न थाले, किन नेपालभन्दा अन्य गन्तव्यतर्फ आकर्षित हुन थाले भन्ने विषयमा विगतका हाम्रा कमी–कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्छ । यसमा ट्राभल एजेन्टहरूको भुमिका अत्यन्त महत्वपूर्ण छ । लामो समयदेखि बहसमा रहेको टुरिस्ट बस पार्क पनि व्यवस्थित रूपमा निर्माण गरौँ । विमान चढ्न एयरपोर्ट नै जानुपरेजस्तै पर्यटक बसका लागि पनि व्यवस्थित बस पार्क आवश्यक छ । निजी ठाउँ खोज्दै सानो–सानो स्वार्थमा अल्झिनुभन्दा भएका बस पार्कलाई एकीकृत र व्यवस्थित गर्ने पहल गरौँ । आन्तरिक द्वन्द्व र स्वार्थ त्यागेर एकताबद्ध भएर अघि बढे मात्रै पर्यटन विकास सम्भव छ । त्यसैगरी, पर्यटन विधेयकलाई सबै सरोकारवालासँग घनिभूत छलफल गरेर बलियो र दीर्घकालीन बनाऔँ। पर्यटन समितिका सभापति, सबै स्टेकहोल्डर र सम्बन्धित मन्त्रालयसँग छलफल गरी अबको ५० वर्षलाई मार्गदर्शन गर्न सक्ने उत्कृष्ट पर्यटन विधेयक बनाउन हामी पूर्ण सहयोग गर्न तयार छौँ ।’

निर्माणाधीन पर्यटन विधेयकका सम्बन्धमा बोल्दै अर्यालले आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्नेगरी बलियो कानून निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।