
सभामुख डोलप्रसाद अर्यालले नेपाल पर्यटन बोर्डको नीतिगत पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको सुधारका लागि कडा कदम चाल्नुपर्ने बताउनुभएको हो । उहाँले कार्यसम्पादनमा आधारित नेतृत्वको आवश्यकता रहेको बताउनु भयो ।
सभामुख अर्यालले पर्यटन बोर्ड र अब नियुक्त हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल कार्यसम्पादन (पर्फमेन्स) मा आधारित हुनुपर्ने स्पष्ट पार्नुभयो ।

कुनैपनि क्षेत्रको नियुक्ति अब योग्यता र नतिजामुखी हुनुपर्ने उहाँको भनाइ छ । नेपाल वायुसेवा निगमको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सभामुख अर्यालले वर्तमान संरचनाबाट निगमको सुधार सम्भव नरहेको बताउनु भयो । निगमलाई पुनः उत्थान गर्न सकिने आधारहरू प्रशस्त रहेको भएपनि व्यक्तिगत स्वार्थका कारण संस्था पछि परेको उहाँले टिप्पणी गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘पर्यटन बोर्डको नीतिगत पुनर्संरचना हुनुपर्छ भन्नेमा म प्रष्ट छु । अब आउने सीईओले कार्यसम्पादनका आधारमा मात्र जिम्मेवारी पाउनुपर्छ । काम गर्न नसक्नेलाई केवल वर्ष बिताउनका लागि मात्र पदमा राखिने छैन; परिणाम नदिनेको सट्टा नयाँ व्यक्तिलाई अवसर दिइनुपर्छ । विश्वका थुप्रै वायुसेवा कम्पनीहरू नेपालसँग सहकार्य गर्न तयार छन्, तर हामी मेरो व्यक्तिगत लाभ के हुन्छ भन्ने बहसभन्दा माथि उठ्न सकेनौँ । स्वदेश र विदेश जहाँ गएपनि बार्गेनिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्र र राष्ट्रिय ध्वजावाहकको विकास हुन सक्दैन ।’
उहाँले वायुसेवा निगमको सुधारका लागि गम्भीर बन्न पर्यटन मन्त्रीलाई आग्रह समेत गर्नुभयो । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एकअर्कासँग अन्तरसम्बन्धित निकाय भएकाले यिनीहरूको प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो । नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूची (ब्ल्याक लिस्ट) बाट हटाउनु चुनौतीपूर्ण र अनिवार्य रहेको उल्लेख गर्दै अर्यालले यसका लागि सबै सरोकारवाला निकायहरूलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । उहाँले नेपालको पर्यटन बजारलाई विश्वस्तरमा प्रतिष्पर्धी बनाउनका लागि संरचनागत र प्रवृत्तिगत सुधार नै पहिलो शर्त भएको उल्लेख गर्नुभयो ।





