राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा हुँदैनः मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताउनुभएको छ ।
नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना अपरिहार्य भएको बताउनु भयो ।

निगमको सुधारका लागि आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उहाँले यसलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्नेमा आफ्नो दृढता रहेको स्पष्ट पार्नुभयो ।

यस प्रक्रियामा सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले सार्वजनिक क्षेत्रमा यस विषयमा वैचारिक बहस सिर्जना गर्न समेत अपिल गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ तर हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ । यसलाई राजनीतिक र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकालेर बचाउन आमूल पुनर्संरचना आवश्यक छ । राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गरेका कुनैपनि देश मैले देखेको छैन । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनका लागि निगमको सुधार हुनैपर्छ ।’

मन्त्री पौडेलले पर्यटन क्षेत्रको विकासका लागि बलियो राष्ट्रिय ध्वजावाहक हुनुपर्ने बताउनु भयो ।