नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको तयारी भारतमा गर्ने

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा तयारी गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एकदिवसीय फर्म्याटमा हुने एसीसी प्रिमियर कप अगस्ट ३० देखि मलेसियामा सुरु हुँदैछ ।

क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा भीम सार्की, नन्दन यादव, कुशल भिर्तेल, सोमपाल कामी लगायतका खेलाडीलाई बाहिर राखिएको छ ।

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

यस प्रतियोगितामा नेपालले पहिलो खेल अगस्त ३१ मा बहराइनसँग खेल्ने छ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ ।