१५ औं महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छुः शशांक कोईराला

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको हो ।

नेता कोईरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

आगामी १५ औँ महाधिवेशनको प्रसङ्गमा बोल्दै कोईरालाले नेता डा. शेखर कोईरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गर्नुभयो । उहाँले थप स्पष्ट पार्दै सभापतिमा  शेखर कोईराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ । सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु । नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै डा. कोईरालाले अब काँग्रेसले सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।  संविधान प्राप्त भइसकेको अवस्थामा अबको मूल लक्ष्य विकास हुनुपर्ने उहाँको तर्क छ ।