
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान शुरु गरेका छन् ।
सोमबार काठमाडौँको माइतीघर मण्डलाबाट कुलमानले हस्ताक्षर गर्दै अभियानको शुरुवात गरेका हुन् । सो अवसरमा जनमत पार्टीका अध्यक्ष सिके राउत समेत उपस्थित रहेका थिए ।


यो अभियान भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा सञ्चालन गर्ने बताइएको छ ।

पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।
उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।





