सार्वजनिक यातायातको जानकारी दिने ‘केटीएम एप’ सञ्चालनमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको स्थान र आफूले पर्खिरहेको ठाउँमा आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम सार्वजनिक यातायात’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन् ।

एपमार्फत हाल जीपीएस जडान भएका करिब १ हजार २ सय सवारी साधनको अवस्था र स्थानबारे जानकारी लिन सकिनेछ । आगामी दिनमा थप सवारीलाई पनि प्रणालीमा जोडिने जनाइएको छ ।

बैठकमा डंगोलले उपत्यकाको सार्वजनिक यातायातलाई सहज बनाउन रात्रिकालीन सेवा विस्तार तथा विद्यार्थीका लागि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताइन् । उनले स्थानीय तहबीच सहकार्य र आर्थिक साझेदारी आवश्यक रहेको बताइन् ।

चालु आर्थिक वर्षमा मुख्य बस बिसौनी तथा बसपार्कमा सूचना प्रणाली जडान गर्ने, रात्रिकालीन बस सञ्चालनको व्यवस्था मिलाउने र नगदरहित भाडा प्रणाली लागू गर्न कानुनी आधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।

यात्रुले टिकट लिएर यात्रा गर्ने बानी विकास गराउन अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने निर्णयसमेत भएको छ ।

 

Single Image