
केशब पन्थी, अर्घाखाँची डटकम
अर्घाखाँची । सन्धिखर्कमा ‘हाम्रो साहस’ अर्घाखाँचीको आयोजनामा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पुस्ताका सहभागीबीच जातीय विभेदको अन्त्य, समानता, सामाजिक न्याय तथा सामाजिक रूपान्तरणका विषयमा छलफल गरिएको हो।



सन्धिखर्क नगरपालिकाभित्रका जेनजी युवा, युवा पुस्ता तथा पाकापुस्ताका सहभागीहरूले जातीय विभेदसँग जोडिएका आफ्ना अनुभव, भोगाइ र धारणा प्रस्तुत गर्दै विभेदमुक्त समाज निर्माणका लागि अपनाउनुपर्ने उपायबारे अन्तरक्रिया गरेका थिए।


कार्यक्रम सहजीकरण गर्दै ‘हाम्रो साहस’ अर्घाखाँचीकी अध्यक्ष राधा नेपालीले सामाजिक विभेद अन्त्यका लागि पुस्ताबीच निरन्तर छलफलमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष चुराबहादुर केसी, ठाकुर अधिकारी, दलित अधिकारकर्मी विष्णु परियार, कमल विक, रामचन्द्र पोखरेल, दीपक भुसाल लगायतले जातीय विभेदसँग सम्बन्धित आफ्ना अनुभव तथा धारणा राखेका थिए।


सहभागीहरूले विगतको तुलनामा जातीय विभेदका घटनामा केही कमी आए पनि विभेद पूर्ण रूपमा अन्त्य नभइसकेको बताएका थिए। उनीहरूले विभेद अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, समान व्यवहार, सम्मानजनक सहभागिता तथा पुस्ताबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।


छलफलले जातीय विभेद अन्त्यका लागि स्थानीय तह, नागरिक समाज, युवा पुस्ता, समुदाय तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको आयोजकले जनाएको छ।
‘हाम्रो साहस’ अर्घाखाँचीकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिल नेपालीले गरेका थिए।









