आज देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको मौसम

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको मौसम

आज राति हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

images
सावधानी अपनाउन आग्रह

वर्षाको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवन, सडक यातायात तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।