अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’ को समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको बताउनु भयो ।

सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसका लागि ठोस रणनीति र योजनाको अभाव रहेको उहाँले टिप्पणी गर्नुभयो ।

बजेटमा घोषणा गरिएका कार्यक्रमहरू कार्यान्वयनमा नआएको भन्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु भयो ।