वैदेशिक रोजगारीमा जाने श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न तथा आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाका सांसदहरुले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न तथा आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेकपा (एमाले) का सांसद क्षितिज थेवेले कुवेतमा न्युनतम १५० केडीभन्दा कम पारिश्रमिकमा नेपाली श्रमिक नपठाउने निर्णय सरकारी तहबाट गर्नुपर्ने बताउनु भयो ।

उहाँले श्रमको अवस्था र श्रमिकले भोगिरहेको समस्या हल हुनेगरी पारिश्रमिक तोेकिनुपर्ने बताउनु भयो ।

सांसद थेवेले वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारको समस्या समाधानका लागि श्रममन्त्री स्वयं टोलीसहित सम्बन्धित देशको भ्रमणमा जानुपर्ने बताउनु भयो । स्थलगत रूपमा गएर वास्तविक अवस्था बुझ्दा समस्या समाधान र नीतिगत छलफल दुवै सहज हुने उहाँको बुझाई छ ।