
वीरगञ्ज । २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार मिलको स्थलगत निरीक्षण गरी भौतिक संरचना, मेसिन तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको छ ।

सहसचिव श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलको वर्तमान अवस्था, विगतमा भएका निर्णय तथा यसअघि तयार भएका अध्ययन प्रतिवेदनको समेत समीक्षा गर्नेछ । कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।


मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार खारेज भएको वीरगञ्ज चिनी मिलको अवस्था र पुनः सञ्चालनका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गर्न भदौ १ गते कार्यदल गठन गरेको हो ।
कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिका साथै उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको अध्ययनसँगै लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ ।





